अन्तर्राष्ट्रिय

भोटेकोशी बाढीलाई ‘नाटक’ भनेपछि आलोचित शशी थरुरले दिए स्पष्टीकरण

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीलाई सामाजिक सञ्जालमा ‘नाटक’ भनेपछि आलोचित भारतीय कांग्रेस नेता शशी थरुरले स्पष्टीकरण दिएका छन्।

उनले आफूले ‘नाटक’ शब्द बाढीबाट भएको क्षतिको गम्भीरता कम गर्न प्रयोग नगरेको बताएका छन्। शुक्रबार एक्समा पोस्ट गर्दै थरुरले ‘नाटक’ शब्द आफूले ‘तीव्र रूपमा भिडन्त गर्ने शक्तिहरू संलग्न भएको अवस्था वा घटनाक्रम’ भन्ने अर्थमा प्रयोग गरेको बताएका हुन्।

यसअघि थरुरले नेपालमा आएको भीषण बाढीबारे एक्समा पोस्ट गर्दै आफू काठमाडौंका लागि लाग्दा पहाडी क्षेत्रमा भएको घटनाबारे अनभिज्ञ रहेको उल्लेख गरेका थिए। उनले लेखेका थिए, ‘हिजो काठमाडौंका लागि निस्किएँ, पहाडमा भएको नाटक र त्यसले पुर्‍याएको विनाशकारी क्षतिबारे खुशीसाथ अनभिज्ञ थिएँ।’

उनले तिब्बत सीमा नजिकै उत्तरी नेपालको रसुवा जिल्लामा आएको अचानकको भीषण बाढीले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा ठुलो क्षति पुर्‍याएको उल्लेख गरेका थिए। ग्लोबल वार्मिङ वा तिब्बतमा गएको भूकम्पका कारण हिमनदीको ठुलो हिस्सा टुक्रिएर तलको उपत्यकामा खसेको हुन सक्ने विज्ञहरूको अनुमान रहेको पनि उनले बताएका थिए।

तर, विपत्तिलाई ‘नाटक’ भनेर उल्लेख गरेको भन्दै थरुरको पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरे। केहीले उनको शब्द छनोटलाई असंवेदनशील भने भने केहीले उनको शब्दावलीमाथि नै प्रश्न उठाए।

आलोचना भएपछि थरुरले अर्को पोस्टमार्फत आफ्नो भनाइको अर्थ प्रस्ट्याएका हुन्। ‘नेपालबाट मेरो पहिलो पोस्टमा ‘नाटक’ शब्द प्रयोग गरेको विषयमा आक्रोशित हुने सबैका लागि, यो शब्दको अर्थ नाटकीय अवस्था मात्र होइन,’ उनले लेखेका छन्।

उनले शब्दकोशको अर्को अर्थ उद्धृत गर्दै तीव्र रूपमा भिडन्त गर्ने शक्तिहरू संलग्न भएको अवस्था, परिस्थिति वा घटनाक्रमलाई जनाउने अर्थमा आफूले उक्त शब्द प्रयोग गरेको बताएका छन्।

‘मैले त्यही अर्थमा यो शब्द प्रयोग गरेको थिएँ। तर सजिलै गलत अर्थ लगाउन सकिने शब्द छनोट गरेकोमा मलाई पछुतो छ,’ उनले भनेका छन्।

थरुरले बाढीबाट ठुलो मानवीय क्षति भएको उल्लेख गर्दै पीडित र उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।

प्रकाशित: १२ भाद्र २०८३ १७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App