५ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रविधि

स्मार्ट टेलिकमले सेवा थाल्यो

काठमाडौं, मङ्सिर ११ (नागरिक)- सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले स्मार्ट टेलिकम प्रालिको सेवा स्मार्ट स्याट आज बिहीबारबाट आरम्भ भएको छ। सञ्चारमन्त्री शंकर पोखरेलले उद्घाटन तथा सेवाको शुभारम्भ गरे।

कम्पनीले पूर्वाञ्चल विकास क्षेत्रवाहेक अन्य चार विकास क्षेत्रमा पर्ने ३ सय ९८ गाविसमा आफ्नो सेवा सञ्चालन गर्ने अनुमति पाएको छ। तीमध्ये करिब एक सय गाविसमा भिस्याट प्रविधि प्रयोग गरी फिक्स्ड लाइन सेवा र बाँकी गाविसमा जिएसएम प्रविधि प्रयोग गरी ताररहित सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ।

सूचना तथा सञ्चारमन्त्री पोखरेलले मकानपुर जिल्लाको सिस्नेरी गाविस वडा नम्बर ३ मा रहेका सो जिल्लाका स्थानीय विकास अधिकारी भुवनप्रसाद भट्टसँग कुराकानी गरी सो सेवाको आरम्भ गरेका हुन्।

टेलिफोन सेवा प्रदान गर्ने यो छैटौँ कम्पनी भएको छ।
मन्त्री पोखरेलले टेलिकम सेवा सञ्चालनका लागि अनुमति प्राप्त गर्दाका सर्तहरु पूरा गर्न आह्वान गर्दै शर्त पालना भएमा सरकार उत्साहका साथ सहयोग गर्ने तयार रहेको बताए। उनले भने-'टेलिकम सेवा सुचारु गर्न हतार गर्ने र सेवा सञ्चालन गरिसकेपछि गुणस्तरमा ध्यान नदिने परम्परा अन्त्य हुनु आवश्यक छ।'

टेलिकम सेवा कम्पनीहरुले व्यवसायिकताका साथसाथै समाजप्रतिको उत्तरदायित्व बिर्सन नहुनेमा जोड दिँदै सूचना तथा सञ्चारमन्त्री पोखरेलले इन्टरनेट सेवा विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए। मन्त्री पोखरेलले टेलिकम सेवाका कम्पनीहरुले आफ्ना सेवाका बारेमा एक आपसमा साझेदारी गर्न जरुरी रहेको बताए।

सूचना तथा सञ्चारमन्त्रालयका सचिव सुशील घिमिरेले देशका सबै गाविसमा टेलिफोन सेवा पुर्‍याउने सरकारको लक्ष्यलाई पूरा गर्न स्मार्ट टेलिकमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

हालसम्म देशका ३०० गाविसमा दूरसञ्चार सेवा पुग्न सकेको छैन।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास वज्राचार्यले कम्पनीले भ्वाइस टेलिफोनर डाटा सर्भिसेज सेवा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। लाल साहु डिष्ट्रिव्युसन प्रालि, सिङ्गापुर, स्क्वायर नेटवर्क प्रालि नेपाल र जिलाट स्याटलाइट नेटवर्कको संयुक्त लगानीमा सो कम्पनी स्थापना भएको हो।

प्रकाशित: ११ मंसिर २०६६ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App