२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बाग्मती लगातार तेस्रो पटक असफल

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकाल्दा बाग्मती प्रदेशले लगातार तेस्रो हार भोगेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा बाग्मती मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि ६९ रनको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो भने बाग्मती प्रदेश–१ र नेपाल पुलिससँग पराजित भएको थियो। गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७६ रन बनाउन सक्यो। कर्णालीका हिमांशु शाहीले ६९ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीको जितका लागि पर्याप्त भएन। हिमांशुले १ सय १६ बलको सामना गर्दा ८ चौका प्रहार गरे। कप्तान रवीन्द्र शाहीले ४२ रन जोड्दा प्रकाश जैसीले १५ रन बनाए। यसबाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक स्कोर गर्न सकेनन्। गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले ३/३ विकेट लिए। विपिन खत्रीको नाममा २ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले पूरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो। गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ खेले। ४५ बल खेलेका अभिषेकले ८ चौका र १ छक्का प्रहार गरे। यस्तै अर्जुन कुमाल अर्धशतक बनाउन एक रनले चुक्दा विधान श्रेष्ठले ४६ रनको व्यक्तिगत स्कोर बनाए। सुवास भण्डारी १४ रनमा आउट भए। कर्णालीका अनुज चुनाराले ४ विकेट लिए। प्रकाश जैसी र दिनेश अधिकारीले २ विकेट निकाले। जितसँगै समूह ‘ए’ को गण्डकीले २ खेलमा ४ अंक जोडेको छ। गण्डकी समूहको दोस्रो स्थानमा रहेको छ। उता कर्णालीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। यस्तै बुधबार नै भएको अर्को खेलमा ज्ञानेन्द्र मल्लको टोली बाग्मती लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको हो। यससँगै बाग्मतीले लगातार तेस्रो हार भोगेको छ भने अघिल्लो चरण प्रवेश सम्भावना कमजोर भएको छ।

बुधबार मुलपानी क्रिकेट मैदानमा बाग्मतीले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५.४ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्‍यो। पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको बाग्मती दोस्रो खेलमा प्रदेश–१ सँग निराश भएको थियो। लुम्बिनीका लागि कप्तान देव खनालले अविजित ७७ रन जोड्दा प्रज्वल थापाले २९ रन जोडे। देवले एक सय १९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै सन्दीप रसाइलीले पनि अविजित २९ रन जोडे। बाग्मतीका प्रतीश जिसी र रिजन ढकालले समान एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको बाग्मतीले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनको योगफल बनाएको थियो। बाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३३, दुर्गेश थापाले ३२ र ओपनर आशुतोषले २२ रन जोडे। लुम्बिनीका अनिल खरेलले सर्वाधिक ४ विकेट निकाल्दा विशालविक्रम केसी र अभिषेक गौतमले समान २/२ विकेट लिए।

प्रकाशित: १७ कार्तिक २०७९ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App