१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप क्रिकेटः प्रदेश १ र एपिएफ क्लव विजयी

अंकित सुवेदीको शतकको सहयोगमा मंगलबार प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा बागमती प्रदेशमाथि ६९ रनको जित निकालेको छ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ दिएको ३ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेश २ सय ३५ रनमा समेटिएको थियो। जवाफी ब्याटिङ गरेको बागमतीले ४५.५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो। बागमतीका लागि नन्दन यादवले ४८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडेका थिए।

ओपनर इशान पाण्डेले ३५, कप्तान ज्ञानेन्द्र मल्लले २७ र दुर्गेश थापाले २६ र रामनरेश गिरीले अविजित २८ रनबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन्। बागमतीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश १ का लागि सार्वन यादवले सर्वाधिक ३ तथा दीपक जोशी, फिर्दोस अनसारी र कप्तान सिद्धान्त लोहनीले २–२ विकेट लिए। लव कामतको नाममा एक विकेट रह्यो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा सबै विकेट गुमाएर ३ सय ४ रन जोड्न सफल भएको थियो। शतकीय पारी खेलेका अंकितले १ सय ३४ बलमा १२ चौका र १ छक्कासहित १ सय १० रनको व्यक्तिगत स्कोर बनाए।

कप्तान सिद्धान्तले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ३ चौका र ८ छक्कासहित ७२ रनको अर्धशतकीय इनिङ खेल्दा विवेक मेहेताले ३० रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्। प्रदेश १ को विकेट निकाल्दा वागमतीका रामनरेश गिरीले सर्वाधिक ५ विकेट आफ्नो नाममा लेखाए।

इसान पाण्डे, प्रतिश जिसी, सूर्य तामाङ र नन्दन यादवले १/१ विकेट हात पारे। जितसँगै समूह बी को प्रदेश १ ले दोस्रो खेलबाट पहिलो जित निकालेको छ। दुई खेलबाट स्पष्ट जित निकालेको पुलिस ४ अंकका तालिकाको शीर्ष रहँदा प्रदेश १, २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।

प्रतियोगिता अन्तर्गत मंगलबार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लवले सुदूरपश्चिम प्रदेशमाथि १० विकेटको फराकिलो जित निकालेको छ। खेलमा भुवन कार्कीको ४ विकेटको शानदार बलिङबाट एपिएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा भुवन कार्कीको कसिलो बलिङका कारण सुदूरपश्चिम प्रदेश २७ ओभरमा समेटिएको थियो। सुदूरपश्चिमले २७ ओभर खेल्दा सबै विकेट गुमाएर मात्र ६७ रन जोडेको थियो। ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपिएफले ११.२ ओभरमा बिना विकेट पूरा गरेको थियो।

एपिएफका लागि ओपनरद्वय प्रदिप ऐरी र आशिफ शेखले अविजित क्रमश २५ र ४२ रन जोड्दै जित निश्चित गरेका थिए। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका लागि कप्तान तथा विकेटकिपर राजु रिजालले सर्वाधिक २५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

कसिलो बलिङ गरेको एपिएफका लागि भुवन कार्कीका अलावा कमल ऐरी र मौसम ढकालले समान २/२ विकेट हात पार्दा किशोर महतो र अमर रौटेलाले १/१ विकेट निकाले। प्रतियोगितामा बुधबार पनि दुई खेल हुनेछन्। कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी तथा मुलपानी मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।

प्रकाशित: १५ कार्तिक २०७९ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App