२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

न्युजिल्यान्डको फराकिलो जित

फिन एलेन

फिन अलिनको विस्फोटक इनिङको सहयोगमा मंगलबार न्युजिल्यान्डले त्रिकोणात्मक शृंखला अन्तर्गत पाकिस्तानविरुद्ध ९ विकेटको फराकिलो जित निकालेको छ।

पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड सम्मिलित शृंखलामा न्युजिल्यान्डले अघिल्लो खेलमा भोगेको हारको बदलासमेत लिएको छ। अनुशासित ब्याटिङ गरेका अलिनले ४२ बलमा ६२ रनको पारी खेल्दै न्युजिल्यान्डलाई जित दिलाएका हुन्। उनले ६ छक्का र १ चौका प्रहार गर्दै पवेलियन फर्किएपछि न्युजिल्यान्ड जितनजिक पुगेको थियो। डेभोन कनवेले अविजित ४९ तथा कप्तान केन विलियम्सनले पनि ९ रनको अविजित पारी खेलेको खेलमा न्युजिल्यान्डले १६.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेटाएको हो। न्युजिल्यान्डको एक विकेट सादाब खानले लिएका हुन्।

यस जितसँगै आयोजक न्युजिल्यान्ड र पाकिस्तानले समान तीन खेलबाट २ जित निकालेका छन्। उता दुई खेले खेलको बंगलादेशले भने दुवै खेलमा नतिजा सुम्पिएको छ। अब न्युजिल्यान्डले बुधबार बंगलादेशसँग अर्को अभ्यास खेल्ने तालिका रहेको छ। अस्ट्रेलियामा आयोजना हुन लागेको ट्वान्टी–२० विश्वकपअघि अभ्यासको लक्ष्य राखेर तीन देशले प्रतिस्पर्धा गरेका हुन्।

अघिल्लो खेलमा बंगलादेशविरुद्ध जित निकालेपछि न्युजिल्यान्डका कप्तान विलियम्सनले भनेजस्तै मंगलबारको खेलमा पनि आफ्ना खेलाडीको प्रदर्शन सुध्रिएको बताएका छन्।

‘अघिल्लो खेलको तुलनामा सबै खेलाडीको प्रदर्शनमा सुधार देखिएको छ। अभ्यास खेल भए पनि सहज थिएन। सामान्य लक्ष्य भए पनि जित कठिन थियो। अघिल्लो खेलमा भोगेको पराजयले खेलाडी निराश थिए। सुधार गर्नुपर्ने बाध्यता खेलाडीमा थियो,’ विलियम्सनले भने, ‘रणनीतिक हिसाबमा खेल्दा नतिजा आत्मसात् गर्न सक्यौं। आजको खेलमा फिनको प्रदर्शन निकै तारिफयोग्य रह्यो। आगामी दिनमा सामान्य गल्तीलाई सुधार गर्दै विश्वकपमा पुग्नुपर्नेछ।’

उता पराजित टोली पाकिस्तानका कप्तान बाबर आजमले अर्को खेलअघि भएका सामान्य गल्तीमा छलफल गर्नुपर्ने बताएका छन्। पाकिस्तानले बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

अघिल्ला खेलमा भन्दा सुधारिएको बलिङ गरेको पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गरेको थियो। बलिङमा सुधार गरे पनि पाकिस्तानले ब्याटिङमा भने अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन। पूरै २० ओभर खेलेको पाकिस्तानले ७ विकेट गुमाएर घरेलु टोलीसामु १ सय ३० रन जोड्न सफल भएको थियो।

पाकिस्तानका लागि इफ्तिखर अहमदले सर्वाधिक २७ रनको पारी खेल्दै इनिङ उकास्दा आसिफ अलीले अविजित २५ रन बनाए। कप्तान बाबर आजमले २१ तथा मोहम्मद रिजवानले १६ रन बनाए। शान मसुदले १४ तथा सादाब खान र हैदर अलीले समान ८/८ रन बनाए। पाकिस्तानविरुद्ध कसिलो बलिङ गर्ने क्रममा न्युजिल्यान्डका लागि मिचेल ब्राकवेल, मिचेल स्टेनर र टिम साउदीले समान २/२ तथा ईस सोधीले १ विकेट लिए।

त्रिदेशीय सिरिजमा न्युजिल्याण्डको यो लगातार दोस्रो जित हो। पाकिस्तानको भने तेस्रो खेलमा यो पहिलो हार हो। यी दुई टोलीबीचको पहिलो खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएको थियो। जितसँगै न्युजिल्यान्ड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पाकिस्तान भने रनरेटको आधारमा पछि रहँदै दोस्रो स्थानमा झरेको छ। बंगलादेश भने अंकविहीन रहँदै पुछारमा रहेको छ।

प्रकाशित: २६ आश्विन २०७९ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App