अन्तर्राष्ट्रिय करिअरमा एकदिवसीय क्रिकेटको अन्तिम वर्ष इलियोटका लागि सबैभन्दा महत्वपूर्ण थियो। २०१३ को नोभेम्बरयता कुनै एकदिवसीय अन्तर्राष्ट्रिय खेल नखेलेका इलियोटलाई आश्चर्यजनक रूपमा २०१५ को ५० ओभर विश्वकपका लागि किविज टोलीमा स्थान दिइएको थियो। घरेलु मैदानमा सम्पन्न विश्वकपमा आफू जन्मेको देश दक्षिण अफ्रिकाविरुद्ध उनले ७३ बलमा ८४ रन बनाएपछि न्युजिल्यान्ड विश्वकप इतिहासमै पहिलोपल्ट फाइनल पुगेको थियो। दुई बलमा ५ रन चाहिएका बेला इलियोटले निर्णायक प्रदर्शन गर्दै न्युजिल्यान्डलाई जित दिलाएका थिए। त्यो जितपछि न्युजिल्यान्डमा क्रिकेटको लोकप्रियता एकाएक चुलिएको थियो। 'खेलाडीका रूपमा यो हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण र गौरवमय समय हो। विश्वकपको फाइनल पुगेपछि क्रिकेट खेलाडीका रूपमा हामीले देशभित्र ठूलो सम्मान र लोकप्रियता हासिल गरेका छौं,' कप्तान ब्रेन्डन म्याकलमले त्यस बेला भनेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु जनाएको दोस्रो वर्ष २००९ को च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई फाइनल पुर्यासउन पनि उनको प्रदर्शन महत्वपूर्ण थियो। वन्डरर्सको मैदानमा उनले पाकिस्तानविरुद्ध अविजित ७५ रन बनाएर टोलीलाई फाइनलको बाटोमा डोर्या्एका थिए।
एकदिवसीय अन्तर्राष्ट्रियमा इलियोटले ८३ खेल खेल्दै ३४.०६ को औसतमा १ हजार ९ सय ७६ रन बनाएका छन्। त्यसमा दुई सतक र ११ अर्धसतक सामेल छ। २०१५ को सेप्टेम्बरमा उनले २०१६ को ट्वान्टी–२० विश्वकपपछि आफ्नो अन्तर्राष्ट्रिय करिअरको समिक्षा गरेर निर्णय लिने बताएका थिए।
प्रकाशित: १९ चैत्र २०७२ २१:५३ शुक्रबार