१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भारत र बंगलादेशको विजयी सुरुआत

चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौती ३-० ले पन्छाउँदै साबिक विजेता भारतले नेपालमा मंगलबारबाट सुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गर्दा दिनको दोस्रो खेलमा बंगलादेशले पनि माल्दिभ्समाथि समान ३–०को जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको समूह ‘ए’ को पहिलो खेलमा साबिक विजेता भारतले ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानमाथि जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। सुरुआतबाट नै पाकिस्तानमाथि दबाब दिएर खेलेको भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने उपहार गोलबाट अग्रता लिएको थियो।

खेलको २१औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानले आत्मघाती गोल गरेपछि भारतले १–० को अग्रता बनाएको थियो। पाकिस्तानका लागि डेब्यु खेलाडी कप्तान मारियाले बललाई रोक्ने क्रममा आफ्नै पोस्टमा गोल भएको थियो। त्यसको दुई मिनेटपछि ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २-० ले अगाडि बढाउन सफल भएकी थिइन्। त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गरेपछि भारतले ३-० को अग्रता लिन सक्यो। सोही नतिजा अन्तिमसम्म कायम रह्यो।

च्याम्पियनसिप अन्तर्गत बुधबारकै दोस्रो खेलमा बंगलादेशले एकपक्षीय खेल देखाउँदै माल्दिभ्सलाई निराश बनाएको हो। बंगलादेशकी कप्तान सविना खातुनले दुई गोल गर्दा मसुरा प्रविनले एक गोल आफ्नो नाममा लेखाइन्। निरन्तर दबाब दिएर खेले पनि बंगलादेशले अग्रता लिन ३१औं मिनेट कुर्नुपरेको थियो। कप्तान सविना खातुनले खेलको ३१औं मिनेटमा सुन्दर गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन्।

पेनाल्टी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बलले सोझै पोस्टको दिशा लिँदा माल्दिभ्सकी कप्तान तथा गोलरक्षक अमिनाथ लिजाले पत्तो पाइनन्। त्यसको तीन मिनेटपछि बंगलादेशका लागि ३४औं मिनेटमा मसुरा प्रविनले अग्रता दोब्बर पारिन्।

पेनाल्टी क्षेत्रभित्र रुमलिएको बललाई मसुराले जाली चुमाएकी थिइन्। दुई गोलले पछि परिसकेको माल्दिभ्सविरुद्ध खेलको ४०औं मिनेटमा कप्तान सविनाले व्यक्तिगत दोस्रो गोल गरिन्। गोलरक्षक अमिनाथले पन्च गरेको बललाई नियन्त्रण लिएर सविनाले सहजै गोल गर्दा अग्रता तेब्बर भएको थियो। पहिलो हाफको नतिजा नै बंगलादेशलाई तीन अंक बटुल्न पर्याप्त बन्यो।

यस जितसँगै समूह ए को भारतले पहिलो खेलमै ३ अंक जोड्दा बंगलादेशले पनि समान ३ अंक नै जोडेको छ। पाकिस्तान र माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेका छन्। विजयी भारतले अब दोस्रो खेल शनिबार माल्दिभ्सविरुद्ध खेल्ने छ भने सोही दिन पाकिस्तानले बंगलादेशको सामना गर्नेछ। च्याम्पियनसिपमा बिहीबार कुनै खेल छैन भने शुक्रबार श्रीलंका र भुटानबीच खेल हुनेछ। खेल साँझ ५ः३० बजे हुनेछ।  

प्रकाशित: २३ भाद्र २०७९ ०२:०१ बिहीबार

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप