२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

निलम्बन हटेपछि भारतमा यु-१७ महिला विश्वकप

विश्व फुटबल महासंघ(फिफा) ले अखिल भारत फुटबल संघ (एआइएफएफ) माथि लगाएको निलम्बन हटाएसँगै अक्टोबरमा तय यु-१७ महिला विश्वकप भारतमा नै आयोजना हुने भएको छ।

भारतीय फुटबलमा सरकारी हस्तक्षेप भएको भन्दै लगाएको निलम्बन फिफाले शुक्रबार हटाएसँगै यु–१७ विश्वकप आगामी अक्टोबर ११ बाट भारतमा नै आयोजना हुने भएको हो। गत अगस्टमा फिफाले तेस्रो पक्षबाट हस्तक्षेप भएको भन्दै एआइएफएफलाई निलम्बन गरेको थियो।

उक्त निलम्बनसँगै भारतको समग्र फुटबल प्रभावित बन्न पुग्यो। ग्रासरुटदेखि सिनियर महिला तथा पुरुष खेलको तालिकामा पनि फिफा निलम्बनले प्रभावित बन्न पुग्यो। साथै यु-१७ महिला विश्वकप आयोजनाको तीव्र रूपमा तयारी गरिरहेको भारतले ठूलो धक्का सामना गर्नुपर्‍यो।

फिफा काउन्सिलद्वारा तोकिएको प्रशासनिक प्रावधान सुल्झिएको विश्लेषणसहित शुक्रबार निलम्बन फुकुवा भएको छ। ‘फिफाले एआइएफएफको गतिविधिलाई निरन्तर नियाल्नेछ र नयाँ निर्वाचनका लागि पनि सहयोग गर्नेछ। पूर्वनिर्धारित यु–१७ महिला विश्वकप पनि अक्टोबर ११ देखि ३० सम्म भारतमा नै हुनेछ,’फिफाले भनेको छ। सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालीन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाउँदै एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटिलाई दिएको थियो।

उक्त कमिटीलाई अदालतले एआइएफएफको निर्वाचन र नयाँ विधान तयार पार्नेे जिम्मेवारी दिएको थियो। सोही विषयलाई लिएर फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको कारण देखाउँदै भारतीय फुटबललाई निलम्बन गर्‍यो। तर, पछि अदालतले आफैंले गठन गरेको तीन सदस्यीय कमिटि खारेज गर्दै एआइएफएफ सञ्चालनको अधिकार संघका महासचिव सुनन्दो धरलाई दिएपछि निलम्बन फुकुवाको बाटोमा भारतीय फुटबल पुगेको हो। ‘भारतीय फुटबलमा देखिन थालेको कालो बादल शुक्रबार फिफाको फुकुवासँगै समाप्त भएको छ,’ एआइएफएफका महासचिव सुनन्दोले भने। निलम्बन फुकुवा भएपछि नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपमा पनि भारत उपस्थित हुने निश्चित भएको छ।  

प्रकाशित: १२ भाद्र २०७९ ००:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App