१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

फिफामा इन्फान्टिनो

जुरिच- युरोपेली फुटबल महासंघ (युइएफए) का महासचिव जियानी इन्फान्टिनो शुक्रबार सेप ब्लाटरलाई प्रतिस्थापन गर्दै फिफा अध्यक्षमा निर्वाचित भएका छन्।इन्फान्टिनोले अन्य तीन उम्मेद्वार बहराइन राजपरिवारका शेख सलमान बिन इब्राहिम अल खलिफा, जोर्डनका राजकुमार अली बिन अल हुसेन र फ्रान्सका जेरोमी च्याम्पाग्नेलाई पछि पर्दै फुटबलको सर्वोच्च पदमा निर्वाचित भएका हुन्।

पहिलो चरणको मतदानमा कसैले पनि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान गरिएको थियो। दोस्रो चरणमा इन्फान्टिनोले १ सय १५ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी शेख सलमानले ८८ मत पाएका थिए। जोर्डनका राजकुमार अली विनलाई ४ मत परेको थियो भने च्याम्पाग्नेलाई एउटै मत परेन।

फिफाका २ सय ७ सदस्य राष्ट्रले मतदान गर्ने चुनावको पहिलो चरणमा जितका लागि दुइतिहाई (१३८) मत आवश्यक पर्छ। त्यसो नभए दोस्रो चरणमा सामान्य बहुमत प्राप्त गर्ने निर्वाचित हुने फिफाको प्रावधान छ।

पहिलो चरणको मतदानमा इन्फान्टिनोले ८८ मत ल्याएका थिए। शेख सलमान बिनले ८५ मत ल्याएका थिए। राजकुमार अलीले २७ मत र च्याम्पाग्नेले ७ मत पाएका थिए।

सन् १९७४ पछि फिफा चुनाव दोस्रो चरणमा पनि मतदान भएको यो पहिलोपल्ट हो। त्यति बेला इङ्ल्यान्डका सर स्टानले रौसलाई पराजित गर्दै पहिलोपल्ट युरोप बाहिरबाट ब्राजिलका जाओ ह्याभेलाञ्च फिफा अध्यक्षमा निर्वाचित भएका थिए।

'मेरो अनुभव व्यक्त गर्न सकिरहेको छैन। फुटबललाई माया गर्ने सबैको भावनाप्रति सम्मान गर्दै फिफाको गरिमाअझै उच्च बनाउने छु,' इन्फान्टिनोले भने, 'संस्थालाई पारदर्शी ढंगले अघि बढाउने छु। त्यसका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ।'

१९९८ यता सेप ब्लाटरले फिफाको नेतृत्व गरेका थिए। गत डिसेम्बरमा उनी पुनः पाँचौं कार्यकालका लागि निर्वाचित भएका थिए। चार दिनपछि नै फिफा पदाधिकारी भ्रष्टाचार मुद्दामा पक्राउ परेपछि उनले पद त्याग्ने घोषणा गरेका थिए।

प्रकाशित: १४ फाल्गुन २०७२ २३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App