६०० भन्दा माथिको स्कोर गरेको व्यक्तिगततर्फ दोस्रो चरणलाई प्रतिस्पर्धा गर्न पाउने थियो। व्यक्तिगतमा भारतका चैन सिंहले स्वर्ण जित्दा २०४.६ स्कोर बनाए। बंगलादेशका सोभोन चौधरीले रजत र भारतका गगन नाराङले कांस्य पदक जितेका थिए।
महिला कबड्डीमा जित
राजीव गान्धी इन्डोर स्टेडियममा महिला कबड्डीतर्फ पनि नेपालले पाकिस्तानविरुद्ध जित पाएको छ। नेपालले ४१–१० अंक अन्तरमा पाकिस्तानी टोलीलाई हरायो। सशक्त देखिएको नेपाली खेलाडी पाकिस्तानविरुद्ध हाबी भए।
नेपाली टोली लगातार दोस्रो खेल गुमाएको थियो। भारतसँग हारेको नेपालले शुक्रबार श्रीलंकाविरुद्ध राम्रो सुरुआत गरेको थियो। सुरुमा अग्रता बनाएको नेपाल र श्रीलंकाबीचको खेल स्केार १०–१० हुँदा निकै रोमाञ्चक अन्त्य हुने अनुमान गरिएको थियो। तर, त्यसपछि श्रीलंकाले लगातार अंक जोड्दै नेपाललाई २१–१३ अंकले हरायो। मध्यान्तरमा श्रीलङ्का १५–११ ले अगाडि भइसकेको थियो। नेपालले लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध शनिबार खेल्नेछ।
प्रतियोगिताको प्रमुख दाबेदार आयोजक भारतसँग नेपाली पुरुष टोली ४७–२३ अंक अन्तरले पराजित भएको छ। मध्यान्तरको संकेत हुँदा भारतले १९ र नेपालले ११ स्केार गरेको थियो। उत्तरार्द्धमा गति देखाए पनि खेलको सो भागमा पनि भारतले जोखिम लिएर खेलेको थिएन। नेपालले प्रायः स्कोर रेड गरेर लिएको थियो। एक दुई पटकबाहेक नेपालले भारतीय रेडरलाई ढलाउन सकेन। दोस्रो हाफमा भारतले २८ अंक बटुल्दा नेपालले १२ अंकमात्र बटुल्न सक्यो।
अघिल्लो दिन पनि नेपाली टोली पाकिस्तानसँग ३४–१३ ले हारेको थियो। नेपालले शनिबार श्रीलंका र बंगलादेशविरुद्ध खेल्नेछ।
ह्यान्डबलमा हार
सोनापुरमा भएको ह्यान्डबलको महिलातर्फ नेपाली टोलीले भारतसँगको खेल ४७–२० गोल अन्तरले गुमाएको छ। पहिलोपल्ट साग सहभागिता जनाएको टोलीविरुद्ध भारतले पहिलोमा २० र दोस्रोमा २७ गोल गरेको थियो। नेपालबाट पहिलो हाफमा ८ गोल हुँदा दोस्रोमा १३ गोल गरेको थियो।
अघिल्लो दिन महिला ह्यान्डबलले श्रीलंकाविरुद्ध ३६–२४ को विजय पाएको थियो।
पुरुषतर्फ पनि नेपाल पाकिस्तानसँग पराजित भयो। नेपालले ५०–१५ गोल अन्तरले पराजित हुँदा पहिलो हाफमा २४ र दोस्रोमा २६ गोल सामना गर्दा नेपालले पहिलोमा ५ र दोस्रोमा १० गोल गरेको थियो।
बास्केटबल भएन
१२ औं दक्षिण एसियाली खेलकुदमा बास्केटबलको प्रतिस्पर्धा हुन सकेन। निर्वाचित भारतीय बास्केटबल संघ विघटन गरेर भारतीय ओलम्पिक कमिटीले तदर्थ समिति गठन गरेपछि अन्तर्राष्ट्रिय बास्केटबल महासंघ (फिबा) सँग चिसिएको सम्बन्धका कारण साग खेलकुदमा बास्केटबल नभएको हो।
फिबाले आफ्नो अनुमतिबेगर प्रतियोगिता खेले सबै टोलीलाई कारबाही गर्ने भनेपछि प्रतिस्पर्धा नगराइएको हो। आयोजकले प्रतियोगिता सञ्चालन दबाद दिए पनि फिबाले खेल खेल्न आफ्ना सदस्य देशका संघलाई आग्रह गरेको थियो।
यही अन्योलबीच गुवाहटी आइपुगेको विभिन्न देशका बास्केटबल टोली होटलमै कैद भएका थिए। उनीहरूलाई कडा सुरक्षा घेरामा राखेर बाहिर निस्कन समेत दिइएको थिएन।
पाँच दिनअघि नेपालको दुवै (महिला/पुरुष) टोली थाइल्यान्डमा विशेष प्रशिक्षण लिएर सिधैं यहाँ आएको थियो।
नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले भारतमा रहेको दुई बास्केटबल संघको लडाइँले गर्दा अन्य सहभागी राष्ट्रका खेलाडीको भविष्यमाथि खेलवाड भएको बताए। उनले भने, 'हामीले प्रतियोगिता गर्न धेरै प्रयास गर्दा पनि सफल भएनौं। अन्ततः केही देशसँग प्रदर्शनी खेल खेल्ने कार्यक्रम बनाएका हौं।'
शुक्रबार नेपाली महिला टोलीले भुटानसँग मैत्री खेल खेलेको थियो। नेपालले भुटानलाई ४७–२६ स्कोरले हराएको थियो।
प्रकाशित: २९ माघ २०७२ २१:०६ शुक्रबार