१५ चैत्र २०८० बिहीबार
खेल

नवौं राष्ट्रिय खेलकुदको तयारीमा म्याग्दी

जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ। 

प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी जिल्लाका सम्पूर्ण भलिबल खेलाडीलाई आगामी भदौ ३ गतेसम्म खेलाडी दर्ता फारम भर्न र व्यक्तिगत तयारी गर्नका लागि जिल्ला भलिबल संघले आह्वान गरेको छ।

त्यस्तै भलिबल संघमा आवद्ध म्याग्दी जिल्लाका सम्पूर्ण आधिकारिक रेफ्रीलाई भदौ ३ गतेभित्र बेनीको शिक्षामार्गस्थित  संघको कार्यालयमा सम्पर्क गरी लाइसेन्स नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ। नवीकरण दर्ता शुल्क नबुझाउने रेफ्रीलाई संघले कुनै पनि मान्यता नदिने निर्णय गरिएको संघका महासचिव कुमार किसानले जानकारी दिए।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पाँच सदस्यीय जिल्ला छनोट समिति पनि गठन भएको छ। समितिको संयोजकमासंघका उपाध्यक्ष खड्क केसी र सदस्यमा संघका उपाध्यक्ष राजकुमार भण्डारी, महासचिव कुमार किसान, सदस्य मनोज खड्का र गङ्गा तिलिजा रहका छन्।

जिल्ला छनोट प्रतियोगितालाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि उपसमितिसमेत गठन गरिएको छ। उपसमितिका संयोजकमा अशोक शाही र सदस्यमा रामबहादुर गुरुङ, अरुण तिलिजा, समुन केसी, सनमान जुग्जाली र चित्र घर्ती रहेका संघले जनाएको छ।

जिल्लामा विभिन्न संघसंस्था तथा क्लबले भलिबल प्रतियोगिता सञ्चालन गर्न अनिवार्यरूपमा  संघको कार्यालयमा सम्पर्क तथा समन्वय गर्न आह्वान गरेको छ। साथै रेफ्री, अफिसियल शीर्षकमा बजेट व्यवस्थापन गरी प्रतियोगितालाई थप व्यवस्थित र नीति–नियममा रहेर सञ्चालन गर्न सुझावस्वरुप पत्रचार गर्ने निर्णय गरिएको संघका महासचिव किसानले बताए।

सदरमुकाम बेनीमा भलिबल संघको आफ्नै कोर्ट नभएको, विगतदेखि हालसम्म खेलमैदानको अभावमा तालिम वा खेल सञ्चालन गर्न निजी विद्यालयको खेलमैदान प्रयोग गर्नुपर्ने अवस्था रहेको छ। खुलामञ्चबाहेक अरु विकल्प नरहेको परिस्थितिमा तत्कालका लागि अस्थायीरूपमा भए पनि कुनै व्यक्तिको जग्गा भाडामा लिएर खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्ने योजना अघि सारेको संघले यस कार्यमा आवश्यक सहयोगका लागि सबै पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ।

गाउँ–गाउँमा माटोको भलिबल कोर्टलाई प्लास्टर तथा ढलान गरी पक्की बनाउने कार्य भइरहकाले यसबाट भलिबल खेल क्षेत्रलाई भविष्यमा ठूलो असर पुर्‍याउने खतरा देखिएकाले यसको विकल्पमा छुट्टै खेलमैदान बनाउनका लागि सबै क्लबलाई सचेत गराउने गरी जिल्लाभर अभियान सञ्चालन गरिने संघले जनाएको छ।

 नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई म्याग्दीमा सञ्चालन गर्नका लागि पहल गरिरहेको संघले खेलतालिका जिल्लामा परेको खण्डमा उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्ने बताएको छ।

प्रकाशित: २८ श्रावण २०७९ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App