१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

स्विडेनको चुनौती इङ्ल्यान्ड

महिला युरोकप

लिन्डा सेम्ब्रान्टले इन्जुरी समयमा गरेको गोल निर्णायक बनेपछि शुक्रबार महिला युरोकप २०२२ मा स्विडेनले बेल्जियमलाई १-० ले स्तब्ध बनाउँदै सेमिफाइनलमा इङ्ल्यान्डसँगको भेट पक्का गरेको छ।

सुरुआतबाट नै हाबी भएर खेलेको स्विडेनले २५औं मिनेटमा गोल गरे पनि भिडियो सहायक रेफ्रि (भिएआर) ले मान्यता नदिएपछि अन्तिम चारमा प्रवेश गर्न स्विडेनले इन्जुरी समय नै कुर्नुपर्‍यो। विजयी स्विडेनले अब फाइनल प्रवेशका लागि आयोजक इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

ओलम्पिक स्वर्ण विजेता स्विडेनले बेल्जियमविरुद्ध पहिलोपटक नकआउट चरणका प्रतिस्पर्धा गरेको हो। जसमा स्विडेन बाजी मार्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो। बेल्जियमकी गोलकिपर निकी इभार्डाको फितलो प्रदर्शन र विवादास्पद भिएआरले खेलमा केही तनाव भएको थियो।

सेमिफाइनल प्रवेशका लागि निर्णायक गोल गरेकी सेम्ब्रान्टले खेलमा पकड जमाए पनि गोल गर्न निकै संघर्ष गर्नुपरेको बताइन्। ‘मेरो विचारमा हामीले अधिकांश समय बलमा पकड जमायौं। विपक्षीले सोचेभन्दा धेरै राम्रो प्रदर्शन गर्‍यो। अग्रपंक्तिको रणनीतिमा उनीहरू धेरै बलियो देखिए,’सेम्ब्रान्टले भनिन्, ‘सोहीअनुसार हामीले अगाडि खेल्न सकेनौं। यद्यपि बलियो रक्षापंक्तिले उनीहरूको रणनीति सफल हुन दिएन। इन्जुरी समयमा भए पनि गोल निस्कियो। जुन हाम्रो लागि निकै महत्त्वपूर्ण रह्यो।’

अभ्यासको क्रममा स्विडेनका तीन खेलाडीमा कोरोना देखिएको थियो। तर, पनि बलियो मनोबलका साथ मैदान उत्रिएको स्विडेनले उत्कृष्ट प्रदर्शन गर्‍यो। महत्त्वपूर्ण खेलाडी जोना एन्डरसन, हन्ना ग्लास र इमाम कुलबर्गलाई तयारीको क्रममा कोरोना पोजेटिभ देखिएको थियो। तर पनि स्विडेन पकड जमाउन सफल भयो। खेल दौरानमा स्विडेनले ३४ गोलका लागि प्रयास गर्दा बेल्जियमले तीन पटक मात्र प्रयास गर्‍यो। महिला फुटबलको इतिहासमा कुनै पनि प्रतियोगितामा दोस्रो पटक नकआउट चरणमा प्रवेश गरेको बेल्जियमले समूहचरणमा पनि उत्कृष्ट खेल देखाएको थियो।

अघिल्ला खेलका तुलनामा क्वार्टरफाइनलमा लय बिर्सिएको बेल्जियम स्विडेनविरुद्ध खुलेर खेल्न असफल भयो। ‘सुरुबाट नै हामीले दबाबमा खेल्नुपर्‍यो। अग्रपंक्तिबाट अपेक्षा अनुसारको प्रदर्शन हुन सकेन,’बेल्जियमकी कप्तान टिस्सा उल्लर्टले भनिन्, ‘प्रतिस्पर्धात्मक खेल बने पनि सामान्य गल्तीले खेल गुमाउनुपर्‍यो।’

यसअघि सम्पन्न पहिलो र दोस्रो क्वार्टरफाइनलमा इङ्ल्यान्ड र जर्मनी विजयी भइसकेका छन्। पहिलो क्वार्टरफाइनलमा आयोजक इङ्ल्यान्डले स्पेनलाई २-१ ले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान बनाउँदा अर्को खेलमा जर्मनीले अस्ट्रियामाथि २-० को रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ।

बेल्जियमको अग्रपंक्तिलाई रोक्ने क्रममा महत्त्वपूर्ण भूमिका खेलेकी स्विडेनकी रक्षक मगदलेना इरिक्सनले आफ्नो टोली अन्तिम चारमा प्रवेश गरेसँगै पहिलोपटक खुसीको आँसुको अनुभव लिएको प्रतिक्रिया दिइन्। ‘खुसीले मेरो आँखाबाट आँसु झर्‍यो। पहिलोपटक खुसीको आँसुका अनुभव लिन पाएँ,’स्विडेनकी रक्षक मगदलेनाले भनिन्, ‘निकै तनावपूर्ण साँझ रह्यो। निर्धारित समयसम्म गोल निस्कन नसक्दा टोलीमा तनाव थियो। अन्तिममा गोल निस्किएपछि निकै राहत महसुस भयो। सबैको मिहिनेत देख्दा मलाई निकै गर्व लागेको छ। जसको नतिजा हामीले अन्तिम चारमा स्थान बनाउन सक्यौं।’

प्रकाशित: ८ श्रावण २०७९ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App