९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

म रसियन उत्पादन होइन: इलिना

विम्बल्डनको नयाँ विजेता इलिना रेबाकिनाले आफूमाथि लागेको रसियन उत्पादन भन्ने प्रतिक्रिया खारेज गरेकी छन्। उनलाई राष्ट्रिय नायकका रूपमा कजाखस्तानमा स्वागत गरिएको थियो, जहाँ उनले विम्बल्डनको ट्रफी उपहार पनि सुम्पिएकी थिइन्।

रसिया र बेलारूसका खेलाडी यस वर्षको विम्बल्डन खेल्नबाट प्रतिबन्धमा परेका छन्। रसियाले युक्रेनमाथि आक्रमकण गरेका कारण विश्वभरका अधिकांश अन्तर्राष्ट्रिय खेल महासंघले रसियन खेलाडीमाथि प्रतिबन्ध लगाबएका हुन्। तर , रसियाकै सहर मस्कोमा जन्मिएकी इलिनाले भने विम्बल्डन खेल्न पाइन् र उपाधि नै जितिन्। सन् २०१८ मा कजाखस्तानका नागरिकका रूपमा राष्ट्रियता परिवर्तन गरेकाले उनले भने खेल्ने अवसर पाइन्। जसको कारण रसियन भूमिमा जन्मिएकी इलिनाको ¥याकेट भने विम्बल्डनमा चल्ने अवसर मिल्यो।

इलिनाले ग्रान्ड स्लामको सफलता पाएपछि रसियन टेनिसका प्रमुख सामिल तार्पिसचेभले भने उनलाई हाम्रो उत्पादन भन्दै प्रतिक्रिया दिएका थिए। ‘यो धेरै राम्रो सफलता हो। बधाई छ रेबाकिना। हामीले विम्बल्डन जितेका छौं,’ तार्पिसचेभले भनेका थिए। रसियाकै विश्व नम्बर एक पूर्वखेलाडी एभगेनी काफेलनिकोभले पनि बेच्नका लागि तयार भएको सामान कसैले आफ्नो उत्पादन भन्न नसक्ने भन्दै ट्विट गरेका थिए। ‘बेच्न तयार भएको वस्तुमा कसैले मेरो बुद्धि प्रयोग भएको छ भन्न सक्दैन,’ काफेलनिकोभले भने। काफेलनिकोभ फ्रेन्च र अस्ट्रेलियन ओपन विजेता पनि हुन्। उनले ओलम्पिकमा स्वर्ण पदक पनि जितेका छन्।

इलिनाका परिवार अहिले पनि मस्कोमा नै बस्छन्। यसै विम्बल्डनको खेलका क्रममा इलिनाले कति समय रसियामा बिताइन् भनेर उनीमाथि प्रश्न पनि तेर्सिएका थिए। ‘जुनियर स्तरबाट व्यावसायिक खेलाडीका रूपमा करियर अगाडि बढाउन निकै कठिन हुन्छ,’ २३ वर्षीया इलिनाले आफूमाथि लागेको रसियन उत्पादन भन्ने दाबीप्रति कजाखस्तानमा पत्रकार सम्मेलनका क्रममा सो प्रतिक्रिया दिएकी हुन्। ‘राम्रो खेलाडी बन्न राम्रो टिम आवश्यक पर्दछ। हरेकले व्यावसायिक रूपमा लगातार खेलिरहन्छ भन्न सकिँदैन र सोही अनुसार सफलता पाउन पनि सहज छैन। म गर्न सक्छु भन्ने साहसले नै सफलता पाउन सकिन्छ।’

कजाखस्तानक टेनिस फेडेरेसनका उपप्रमुख युरी पोलस्कीले र सियन फेडेरेसनको दाबी गलत रहेको प्रतिक्रिया दिए। ‘यदि उनी रसियाको योगदानबाट उत्पादन भएकी खेलाडी थिइन् भने सन् २०१८ उनलाई किन सहजै जान दिइएको त?,’ कजाखस्तान टेनिसका उपप्रमुख पोलस्कीले प्रतिप्रश्न गर्दै भने, ‘अब यो मुद्दाबारे धेरै समय खर्च गर्नुको अर्थ नै छैन। यो विषयमा धेरै कुरा बाहिर आइसकेका छन्, त्यसैले यसबारे थप बोलिरहनु पर्दैन।’

इलिनाले कजाखस्तानको टेनिस इतिहासकै सबैभन्दा ठूलो सफलता दिलाएकी थिइन्। उनको यो सफलताप्रति यहाँको खेलक्षेत्र र फेडेरेसनका प्रमुख बुलाट उतेमुर तोभ निकै खुसी छन्। बुलाटले कजाखस्तानको टेनिस विकासका लागि कयौं मिलियन डलर लगानी गरेका थिए, जसको फल इलिनाले दिलाइन्। इलिनाले विम्बल्डन जितेलगत्तै बुलाटसँग अंकमाल गरेर खुसी साटेकी थिइन्। साथै उनले पुरस्कारबाट प्राप्त केही रकम कजाखस्तानको जुनियर टेनिस विकासमा खर्च गर्ने घोषणा पनि गरेकी छन्।

‘म आफ्नो देशका लागि खेलाडीलाई सदैव सहयोग गर्न चाहन्छु। यो जिम्मेवारी यस पटक निर्वाह गर्न लाग्दा निकै खुसी पनि मिलेको छ,’ कजाखस्तानका प्रधानमन्त्री अलिखान समेलोभसँगको भेटका क्रममा उनले भनेकी थिइन्। ‘हिजो म कजाखस्तान प्रवेश गर्दा धेरै जनता मलाई भेट्न आएका थिए। त्यो के भइरहेको थियो भन्ने मैले विश्वास नै गर्न सकेको थिइनँ,’ उनले भनेकी थिइन्। प्रधानमन्त्री अलिखानले भने इलिनालाई राज्यको सबैभन्दा ठूलो सम्मान दिइने घोषणा गर्दै उनको यो सफलताले कजाखस्तानको टेनिस विकासमा ठूलो मद्दत पनि पुग्ने विश्वास व्यक्त गरे। साथै प्रधानमन्त्री अलिखानले यो उपाधिले धेरै जुनियर खेलाडीलाई टेनिसमा लाग्न उत्प्रेरणा पनि मिल्ने विश्वास व्यक्त गरेका छन्।  

प्रकाशित: ३० असार २०७९ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App