२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

म्याराडोनाका चिकित्सकविरुद्ध मुद्दा दर्ता हुने

अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको निधनमा दोषी ठहरिएका आठ मेडिकल अधिकारीविरुद्ध मुद्दा दर्ता गरिने भएको छ।

म्याराडोनाको निधनपछि गठन गरिएको छानबिन समितिले उनको निधनमा ८ स्वास्थ्यकर्मी दोषी रहेको रिपोर्ट सार्वजनिक गरेसँगै त्यहाँको अदालतमा उपचारमा संलग्न चिकित्सकमाथि मुद्दा दायर गरिने भएको हो। दोषी पाइएका स्वास्थ्यकर्मी म्याराडोनाको निधनअघि स्वास्थ्य सहयोगी थिए। निधनपछि बनेको एक विशेषज्ञ टोलीले स्वास्थ्यकर्मीको लापरबाहीका कारण म्याराडोनाको निधन भएको रिपोर्ट सार्वजनिक गरेको थियो। यद्यपि मुद्दा दायर गर्ने समय भने तोकिएको छैन।

अर्जेन्टिनाका फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा मस्तिष्कको शल्यक्रिया हुँदा अत्यधिक रगत बगेर निधन भएको थियो। दशकदेखि म्याराडोना कोकिन र अल्कोहलको लतमा थिए। अर्जेन्टिनाका पूर्वप्रशिक्षक समेत रहेका म्याराडोना विश्व फुटबलका सर्वकालीन खेलाडी मानिन्नछन्।

म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए। मेक्सिकोमा भएको विश्वकपको फाइनलमा पश्चिम जर्मनीलाई ३–२ ले हराउँदै उपाधि उचाल्दा म्याराडोना अर्जेन्टिनाका कप्तान थिए। सोही संस्करणको क्वार्टरफाइनलमा  इङ्ल्यान्डविरुद्ध उनकै दुई गोलको सहयोगमा अर्जेन्टिना अन्तिम चारमा प्रवेश गरेको थियो। जसमा पहिलो गोल ह्यान्ड गोलका रूपमा लिइने गरेको छ। रेफ्रीले उक्त गोललाई मान्यता दिएका थिए। उक्त गोललाई ‘ह्यान्ड अफ गड’ रूपमा व्याख्या गरिन्छ।

अर्जेन्टिनाका लागि म्याराडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए। उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका छन्। २००८ देखि २०१० को विश्वकपसम्म म्याराडोना अर्जेन्टिनाका मुख्य प्रशिक्षक रहेका थिए। म्याराडोनाले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभियाजस्ता युरोपका ठूला क्लबबाट खेलेका थिए।

अर्जेन्टिनोस जुनियर्सबाट व्यावसायिक फुटबलको सुरुआत गरेका उनले १९८१ देखि १९८२ सम्म बोका जुनियर्सबाट खेलेका थिए। त्यसपश्चात् स्पेनिस क्लब बार्सिलोनामा १९८२ देखि १९८४ सम्म खेलेका थिए। बार्सिलोनामा रहँदा उनले ३६ खेलमा २२ गोल गरेका थिए। यस्तै १९८४ देखि १९९१ सम्म इटालियन क्लब नापोलीबाट खेल्दा १ सय ८८ खेलमा ८१ गोल गरे।

नापोलीबाट सेभिया गएका उनले त्यहाँ एक सिजन बिताएका थिए। सेभियामा उनले २६ खेलमा ५ गोल गरेका थिए। क्लब फुटबलको अन्त्य भने म्यारोडोनाले १९९७ मा बोका जुनियर्सबाट गरेका थिए। त्यसपछि लागू औषधमा फसेका म्याराडोनाको फुटबल करियर समाप्त भएको थियो। लागू औषध प्रयोगकै कारण उनी पटकपटक जेलसमेत परे।

प्रकाशित: १० असार २०७९ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App