४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिसि महिला टी–२० च्याम्पियसिपः नेपालको विजयी सुरुवात

सार्क प्रतिद्वन्द्वी भुटानलाई ५० रनले हराउँदै मलेसियामा शुक्रबारबाट सुरु भएको एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन जोड्दा नेपालले ५० रनको जित निकालेको हो।

मध्यम लक्ष्यसहित जवाफि ब्याटिङ गरेको भुटानका लागि छिरिङ जान्गमोले सर्वाधिक १६ रनको पारी खेल्दा एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन योगदान गरिन्। पेमा सोल्डेनले ४ रन जोड्दा पाँच खेलाडीले मात्र समान १ रन जोडेका थिए। भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट लिइन्।

यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सिता राना मगर र इन्दु वर्माले १/१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयारी पारेको थियो। नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडिन्।

कप्तान रुबिना क्षेत्रीले २१ रन जोडिन् भने डोलीभट्टले ५ रन बनाइन्। सीता मगरले ४, ममता चौधरीले ३, विन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योती पाण्डे शुन्य रनमा आउट भए। कविता कुँवर १ रनमा अविजित रहिन्। बलिङतर्फ भुटानकी सोनम पाल्डोनले ४ तथाअञ्जु गुरुङ र टासी छेकीले १/१ विकेट लिए।

च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग शनिबार खेल्नेछ। यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत नेपाल समूह बी मा छ।

नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन्। यस्तै समूह ए मामलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन्। समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एशियाकप क्रिकेटमा छनोट हुनेछ।

प्रकाशित: ३ असार २०७९ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App