१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मीनु गुरुङ क्वार्टरफाइनलमा

मुक्का प्रहार गर्ने प्रयासमा ५२ केजीतर्फ आकाश राना (नीलो) र सुरज ओली। तस्बिरः नागरिक

नेपाल आर्मीकी मीनु गुरुङ मंगलबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मीनुले महिला ५१ केजी तौलसमूहमा मधेस प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरिन्। सोही विधामा एपिएफकी सन्जुमाया थिङले प्रदेश एककी सुस्मिता श्रेष्ठलाई हराइन्। सन्जु पनि क्वार्टरफाइनलमा पुगिन्।

महिला ५७ केजी तौलसमूहमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशीला थापा तथा प्रदेश एककी सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पाखा लगाउँदै क्वार्टरफाइनल यात्रा तय गरे।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष ५२ केजी तौलसमूहमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओली तथा एपिएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई हराउँदै क्वार्टरफाइनलमा पुगे।

वसन्तपुर डबलीमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजी तौलसमूहमा नेपाल प्रहरी क्लबका शम्भु राजवंशीले सुदूरपश्चिमका रामबहादुर थापा तथा एपिएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाए। पुरुष ६३ केजी तौलसमूहमा एपिएफका सोनाम सार्की र लुम्बिनीका अनिल पुनमगरले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।

सोनामले सुदूरपश्चिमका वीरेन्द्र रावल तथा अनिलले प्रदेश एकका तोबिन प्रधानको चुनौती पन्छाए। पुरुष ६९ केजी तौलसमूहमा एपिएफका विक्रम चौधरीले मधेसका सचिन शाक्य तथा लुम्बिनीका विकास रानामगरले गण्डकीका सुनिल विकलाई निराश पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे। पुरुष ७५ केजीमा क्वार्टरफाइनलमा पुग्न सफल आर्मीका दीपेश लामाले लुम्बिनीका गणेश सुनारमाथि जित निकाले।

प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे। उक्त अवसरमा १३औँ सागकी स्वर्णधारी मीनुसहित भूपेन्द्र थापामगर र सनिल शाहीलाई नगदसहित सम्मान गरिएको थियो। उनीहरूलाई नेपाल बक्सिङ संघ एवं आयोजक कमिटीका सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत १/१ लाख नगद पुरस्कार प्रदान गरे। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको सफलताका लागि शुभकामना दिँदै नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न सरोकारवाला सबैलाई अपिल गरे।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावेश छन्। सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफ गरी १० टोलीका १ सय २ खेलाडीको सहभागिता रहेको प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जनाएका छन्। प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने २ खेलाडीले समान ७ हजार ५ सय नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिनेछ। प्रतियोगिता शनिबारसम्म चल्नेछ।

प्रकाशित: ७ वैशाख २०७९ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App