८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

मिडल्सब्रोको सनसनीपूर्ण जित

मिडल्सब्रोले एफए कपमा प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै अर्को सनसनीपूर्ण जित निकाल्दा अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले भने पिटर्सब्रगमाथि २–० को जितसहित क्वार्टरफाइनलमा स्थान बनाएको छ।

चौथो चरणमा म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदान ओल्ड ट्राफोर्डमा पराजित गरेको च्याम्पियनसिप क्लब मिडल्सब्रोले अर्को प्रिमियर लिग क्लब टोटेनह्यामलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।

मिडल्सब्रोले अतिरिक्त समयमा टोटनह्याममाथि १–० को जित निकाल्यो। यो हारसँगै टोटनह्यामलाई अर्को सिजन पनि उपाधिविहीन बनाउने भएको छ। सन् २००८ मा लिग कप जितेयता टोटनह्याम उपाधिविहीन रहँदै आएको छ। त्यसैले यो हारपछि प्रशिक्षक एन्टोनिओ कोन्टेको टोटनह्याममा भविष्य पनि अन्योलमा देखिएको छ।

इटालियन प्रशिक्षक कोन्टेले गत नोभेम्बरमा मात्र टोटनह्याम समालेका थिए। तर, प्रिमियर लिगको पछिल्ला ६ खेलमा चार हार बेहोरेपछि उनी बाहिरिने संकेत देखिएको छ। ‘हामीले बाँकी सिजनका खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ।

त्यसपछि अंकतालिकामा हाम्रो कुन स्थान रहन्छ त्यो हेर्न बाँकी नै छ। त्यसपछि मात्र सिजनबारे मूल्यांकन गर्नेछौं,’ कोन्टेले भने, ‘अहिले नै भविष्यबारे भन्न हतार नै हुनेछ।’ दोस्रो रोजाइका युवा खेलाडी जोस काबर्नले १०७औं मिनेटमा गोल गरेका थिए। त्यो गोल नै मिडल्सब्रोलाई अर्को सनसनीपूर्ण जित निकाल्न पर्याप्त बन्यो।

‘युनाइटेड र टोटनह्यामसँगको जितले धेरै उत्साह दिएको छ,’ मिडल्सब्रोका प्रशिक्षक क्रिस वाइल्डरले भने,‘समर्थकको साथले नै उत्कृष्ट प्रदर्शन गर्ने उत्साह दिएको हो।’ दोस्रो हाफमा ह्यारी केनले टोटनह्यामका लागि गोल गरे पनि अफसाइड हुन पुग्यो। त्यससँगै इङ्ल्यान्डका कप्तान केनले करियरमा पहिलो उपाधिका लागि अभैm कुर्नुपर्ने भएको छ।

जिनचेन्कोको नेतृत्वमा सिटी

ओलेजान्डर जिनचेन्कोको नेतृत्वको सिटीले रियाद महारेज र ज्याक ग्रिलिसको गोल प्रेरणामा च्याम्पियनसिप क्लबलाई हराउँदै अन्तिम आठमा स्थान बनायो। युक्रेनका स्टार जिनचेन्कोले पहिलो पटक सिटीमा आर्मब्यान्ड लगाए।

रूसले युक्रेनमाथि आक्रामण गरेपश्चात् विश्वभर युक्रेनले समर्थन पाइरहेको अवस्थामा सिटीले जिनचेन्कोलाई पनि नेतृत्वको अवसर दियो। सुरुमा फर्नान्डिन्होलाई सिटीले कप्तानीको जिम्मेवारी सुम्पिएको थियो। तर, ब्राजिलियन स्टार फर्नान्डिन्होले सख्तर डन्स्टेकबाट अनुबन्धित जिनचेन्कोलाई आर्मब्यान्ड लगाइदिए। ‘उनी, उनको परिवार र देशका लागि यो निकै कठिन समय हो। तर, फुटबल खेल्नु उनका लागि सबैभन्दा राम्रो पक्ष हो,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने। जिनचेन्को र पिटर्सब्रगका कप्तान फ््रयान्की केन्टीले युक्रेनको झन्डाका साथ टोलीलाई सुरुमा मैदान प्रवेश गराएका थिए। प्रिमियर लिगकै अर्को क्लब क्रिस्टल प्यालेसले स्टोकमाथि २–१ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो।

प्रकाशित: १९ फाल्गुन २०७८ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App