पहिलो पटक आयोजना गरिएको गण्डकीप्रदेश स्तरीय खुल्ला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जितेका छन्। स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा र्याङकिङ राउण्डमा २७७ अंक हान्दै नकाउट चरण प्रवेश गरेका उनले फाईनलमा आफनै म्याग्दीकै उमेश तिलिजालाई ६–२ सेट प्वाइन्ट अन्तरमा पराजित गर्दै नगद २५ हजार राशीसहित स्वर्ण पदक प्राप्त गरे। तिलिजा दोस्रो हुदैं नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन्।
कास्की जिल्ला आर्चरी संघको आयोजना तथा नेपाल इन्भेष्टमेन्ट बैंकको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा सुजनले सेमिफाईनलमा आफनै सहकर्मी राजु खोर्जा पुनलाई ६–३ को सेट प्वाइन्टमा पन्छाउँदै फाईनल सुरक्षित गरेका थिए। तेस्रो स्थानमा भने म्याग्दीका राजु खोर्जा पुले कास्कीका पूर्ण गौचनलाई ७–१ को सेट प्वाइन्टले पराजित गर्दै नगद १५ हजार राशी पुरस्कार थाप्दा गौचन भने चौथो स्थानमा रहँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे।
६० वर्षमाथिको भेट्रान्स तर्फको प्रतिस्पर्धामा मार्फा थकाली समाजका हिरामान लालचनले २३३ अंक जोड्दै प्रथम भए। तीन गाँउले थकाली समाजका बुद्धि थकाली २२५ अंकसहित दोस्रो स्थानमा रहँदा मनाङ समाजका छोर्तेन गुरुङ २२३ अंकसहित तृतीय भए। भेट्रान्स तर्फको प्रतिस्पर्धामा ७ जना खेलाडीले निशाना लगाएका थिए।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजित प्रतियोगितामा चार सेमिफाइनलिष्टसँगै अन्य १२ जना गरी १६ जनालाई बन्द प्रशिक्षणमा राखिने कास्की जिल्ला आर्चरी संघले जनाएको छ। श्याम गुरुङ, प्रदीप पुर्जा, सुविन्द्र गौचन, चोचाङ फगामी, रविन थापा, निशान तुलाचन, प्रकाश घर्ती, उदयकुमार बुढाथोकी, महेश पुर्जा, अम्रिस पुन, भुपेन्द्र घर्ती र दुर्गा घर्तीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रारम्भिक छनोट गरिएको कास्की जिल्ला आर्चरी संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक बसन्त गौचन(साकुरा)ले जानकारी दिए।
प्रतियोगितामा कास्की, बाग्लुङ, पर्वत,म्याग्दी, मुस्ताङ र मनाङका गरी ६९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल आर्चरी संघका उपाध्यक्ष बसन्त थकाली, अन्नपूर्ण आर्चरी क्लबका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन लगायतले नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।
प्रकाशित: २४ पुस २०७८ १०:१७ शनिबार