१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

समर्पण उमा कुम्फुमा

नेपाली खेलकुदमा मार्सल आर्ट्सप्रतिको आकर्षण आशालाग्दो छ। नेपालको खेलकुद इतिहास पल्टाएर हेर्ने हो भने पनि मार्सल आर्ट्समा देशले गौरव गर्ने खालका नतिजा प्राप्त भएका छन्।

एक समय त दक्षिण एसियामा नै नेपाल मार्सल आर्ट्सको पावरहाउस नै थियो। दक्षिण एसियाका केही देश नेपालमा प्रशिक्षण लिनै आउँथे। तर, अहिले ठ्याक्कै उल्टो भइसक्यो। भारत, पाकिस्तान, अफगानिस्तानलगायत देशले ठूलो छलाङ मारे। उनीहरूले ओलम्पिक, विश्व च्याम्पियनसिप र एसियाली प्रतिस्पर्धामा पदक नै जितिसके। तर, नेपाल भने आफूलाई त्यसअनुरूप अगाडि बढाउन असफल रह्यो। यद्यपि, यसले नेपालमा मार्सल आर्ट्सप्रतिको लोकप्रियता घटेको छ भन्ने चाहिँ होइन। देशका हरेक कुनामा मार्सल आट्र्सका कुनै न कुनै विधाका खेलाडी र प्रशिक्षकले स्वस्फूर्त रूपले त्यसलाई अगाडि बढाइरहेका छन्।

यीमध्ये एक हुन्, उमा कुम्फुका प्रशिक्षक संजीतकुमार राई। उनले मार्सल आटर््स खेल्न थालेको २७ वर्ष भइसक्यो। यसबीच उनको यात्रा तेक्वान्दो, बक्सिङ, उसु हुँदै उमा कुम्फुमा जोडियो। खेलाडी, जज र प्रशिक्षक मात्र नभई उनी अहिले उमा कुम्फुको संस्थागत विकासमा होमिएका छन्। तीन दशकदेखि मार्सल आर्ट्समा होमिनुको कारण यसप्रतिको लगाव नै हो। उनी सानैदेखि मार्सल आट्र्सप्रति खुबै चासो राख्थे। सन् १९९४ देखि उनले मार्सल आर्ट्स खेल्दै आए। उनलाई तेक्वान्दो खेल निकै मन पथ्र्यो। किनकि उनका पिता तेक्वान्दोका पूर्वखेलाडी थिए। त्यसको प्रभाव उनमा पर्नु स्वाभाविक रह्यो।

१२ वर्षको उमेरदेखि उनले तेक्वान्दो सिके। जहाँ संजीतले नेपालका चर्चित पूर्वखेलाडी विधान लामा र सफल खेलाडी संगीना वैद्यसँग तेक्वान्दो सिक्ने अवसर पाए। आफ्ना अभिभावकको प्रेरणामा उनी खेलतर्फ लागेका थिए। जसले गर्दा पनि यसप्रति उनको यात्रा निरन्तर रह्यो। ‘बुबाआमाले नै खेलक्षेत्रमा लाग्दा हरेक ठाउँमा परिचित भइन्छ भन्नुहुन्थ्यो। शरीर स्वस्थ रहने र आत्मबल उच्च हुन्छ भनेर उहाँहरूले प्रोत्साहित गर्नुभयो। त्यसैले पनि होला, यस क्षेत्रमा करिब तीन दशक बिताइसकेछु,’ संजीतले आफ्ना यादहरू सुनाए।

संजीत सहरी परिवेशमै हुर्किए। संजीत नजन्मिँदै उनको परिवार पूर्वबाट डिल्लीबजार सरेको थियो। उनको जन्म पनि त्यहीँ भयो। त्यहाँ बसोबास गर्दा बुबाले उनलाई रंगशालामा तेक्वान्दोमा भर्ना गरिदिए। छोराले खेलबाट केही गरोस् भन्ने उनका पिताको चाहना थियो। त्यसपछि संजीतको खेलयात्रा पनि नेपाली खेलकुदको केन्द्रबिन्दुबाटै अगाडि बढ्न पुग्यो। उनी खेल संस्कारमा पनि हुर्किए। त्यसैले पनि उनमा मार्सल आर्टसप्रति लगाव निकै रह्यो। मार्सल आटर््सका हरेक विधाले उनलाई आकर्षित गर्दथ्यो। जसको कारण पनि उनी तेक्वान्दोमै स्थिर रहन सकेनन्।

आफूलाई मन परेको मार्सल आटर््सका विधामा उनी भर्ना भइहाल्थे। यही सिलसिलाका कारण उनी बक्सिङ र उसुका खेलाडी पनि बने। तथापि, उनको २७ वर्षे मार्सल आर्टस करियर भने उमा कुम्फुबाट अगाडि बढ्यो। ‘तेक्वान्दोमा आधारभूत पक्ष मात्र सिकेँ। तर, यसैलाई नै करियरको रूपमा अगाडि भने बढाइनँ। बक्सिङ खेलेपछि कुम्फुप्रति मोह जाग्यो। कुम्फुसँग उमा कम्फु मिल्ने भएकाले यसको खेलाडी, प्रशिक्षक, निर्णायक हुँदै व्यवस्थापनमा लागें,’ उनले भने। उनी नेपाल उमा कुम्फु संघका वरिष्ठ उपाध्यक्ष हुन्। उमा कुम्फु मार्सल आर्ट्सका आकर्षक विधामध्ये एक कुम्फुकै शैलीमा खेलिने विधा हो।

नेपालमा यसको सुरुआत भने सन् २००४ देखि हुन थाल्यो। नेपालमा यो खेल भित्र्याउने र विकासमा संजीतको भूमिका अहम् छ। ‘सानैदेखि मैले मार्सल आर्ट्स खेलेँ। यसप्रति मलाई निकै माया छ। करियरको संघर्षपूर्ण अवस्थामा पनि मार्सल आटर््स बिर्सन सकिनँ। त्यसैले उमा कुम्फुलाई नै देशको स्थापित खेलको रूपमा अगाडि बढाउन पछिल्ला दशकमा काम गरिरहेको छु,’ संजीतको विश्वास छ। यद्यपि, उमा कुम्फु नेपालमा मार्सल आर्ट्स विधामध्ये एक स्थापित खेल भइसकेको छ। करिब दुई दशकको यात्रामा नेपालले विश्व च्याम्पियनसिप, एसियाली र अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कयौं सफलता पाएको छ।

अस्ट्रियामा सन् २०१९ को डब्लुएमएसी विश्वकपमा नेपालको सफलताले पनि यसको विकास र प्रवर्धनमा केही काम भएको पुष्टि हुन्छ। त्यसमा नेपालले एक स्वर्ण, तीन रजत र तीन कांस्य नै जितेको थियो। यो सफलतामा संजीतको भूमिका पनि अहम् छ। किनभने खेलाडीको सफलता र हार दुवैमा जस त्यसको नेतृत्वले पाउने गर्दछ। उनी आफैंले पनि केही व्यक्तिगत सफलता हात पारेका छन्। सन् २०१५ को उमा कुम्फु राष्ट्रिय च्याम्पियनसिपका उनी स्वर्ण विजेता पनि हुन्। कुम्फुको चौथो डान प्राप्त संजीतले भारत,अमेरिका, स्विट्जरल्यान्ड, जर्मन, अस्ट्रियालगायत कयौं राष्ट्रमा जजको भूमिका निर्वाह गरेका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले सफलतापूर्वक संयोजकको भूमिका निर्वाह गर्ने गर्छन्। उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री तथा जज सेमिनारमा भाग लिएको अनुभवले गर्दा हाल नेपालमा उमा कुम्फुको सफल तथा कुशल जज मानिन्छन्। उनी नेपाल टुआ (टिओए) कुम्फु फेडेरसन, डेनमार्क र इन्टरनेसनल कुम्फु फेडेरसन (आइकेएफएफ), चीनको नेपालका महासचिवसमेत हुन्। उनको यही अनुभवका कारण उमा कुम्फुको विकासमा मद्दत मिलेको छ। आफूले सिकेका ज्ञान उनले उमा कुम्फु संघबाट बाँड्दै आएका छन्।

‘लक्ष्यअनुरूप गर्न सकेका त छैनौं। किनकि हामीसँग सरकारी सहायता न्यून छ। आफ्नै व्यक्तिगत सहयोगबाट संस्थाका गतिविधिलाई अगाडि बढाएका छौं,’ संजीतले भने, ‘तर छिट्टै उमा कुम्फुलाई थप नयाँ उचाइमा पुरयाउने लक्ष्य छ ।’ विद्यालय र कलेजलाई केन्द्रित गरेर अभ्यास गराएकाले खेलाडी उत्पादनमा सफलता मिल्ने उनको विश्वास छ। 

प्रकाशित: ८ पुस २०७८ ०४:२६ बिहीबार

नेपाली खेलकुद डब्लुएमएसी विश्वकप समर्पण उमा कुम्फुमा