१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नयाँ कप्तानको विश्वकप जित्ने आशा

भारतका कप्तान रोहित शर्माले क्रिकेटमय आफ्नो देशले सीमित ओभरको विश्वकप जित्ने आशा व्यक्त गरेका छन्।

विराट कोहलीको स्थानमा कप्तानको जिम्मेवारी पाएका रोहितले क्रिकेट समर्थकले भरिएका भारतले विश्वकप जित्न सक्ने आशा व्यक्त गरेका  हुन्। विराट कोहलीको पाँच वर्षे कार्यकालमा भारत एकदिवसीय र  ट्वान्टी–२० विश्वकपको उपाधि उचाल्न असफल र हँदा टेस्टको वरीयता पनि गुमाएको थियो।

भारतले पछिल्लो पटक विश्व क्रिकेटको उपाधि सन् २०१३ को च्याम्पियन्स ट्रफीका रूपमा जितेको थियो। त्यसयता भएका फरक फरम्याटका दुई विश्वकपमा भने भारतले असफलता प्राप्त गर्‍यो। सन् २०१९ को विश्वकपको सेमिफाइनबाट बाहिरिएको भारत यसै वर्ष सम्पन्न ट्वान्टी–२० विश्वकपमा भने सेमिफाइनल पुग्नै असफल रह्यो।

पहिलो पटक आयोजना भएको टेस्ट च्याम्पियनसिपमा पनि भारत फाइनलमा पुगेको थियो। तर , गत जुनमा भएको उक्त फाइनलमा भारत न्युजिल्यान्डसँग स्तब्ध बन्यो। ‘पछिल्लो आइसिसीको उपाधि हामीले सन् २०१३ मा जितेका थियौं। त्यसयता हामी उपाधिविहीन रहँदै आएका छौं। तर , अब हामीले आइसिसीको उपाधि जित्न सक्दैनौं भन्ने होइन,’ ३४ वर्षे रोहितले भने, ‘हामी एक टिमका रूपमा खेल्छौं। टिमका रूपमा प्रदर्शन गर्छौं। त्यसैले समग्र टिम इफोर्ट लगाउँदा उपाधि टाढा छैन। अब छिट्टै कयौं विश्वकप आउँदै छन्। पक्कै पनि ती विश्वकप उपाधिमा भारतको नजर  परेको छ ।’

गत हप्ता मात्र भारतले कोहलीलाई एक दिवसीय कप्तानबाट हटाएको थियो। ट्वान्टी–२० को कप्तानी छाडेको एक महिनापछि नै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोहलीलाई एक दिवसीय कप्तानबाट पनि हटाएको हो। उनले गत ट्वान्टी–२० विश्वकपका दौरान कप्तानी छाडेका थिए।

अब ३३ वर्षे विराट भारतको टेस्ट टिमका कप्तान मात्र रहनेछन्। रोहितले विराटको कप्तानीमा भारतले विश्व वरीयतामा कयौं सुधार गरेको उल्लेख गर्दै उनको तारिफ गरे।

विराटलाई एकदिवसीय कप्तानबाट हटाउने निर्णयप्रति भारतमा व्यापक आलोचना पनि भएको थियो तर  बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले कोहलीलाई जिम्मेवारीबाट हटाउनु व्यवस्थापकलाई आवश्यक रहेको भन्दै उक्त निर्णयको बचाउ गरेका थिए। ‘मैले कोहलीलाई ट्वान्टी–२० कप्तानी नछोड भन्ने आग्रह नै गरेको थिएँ,’ गांगुलीले भने, ‘तथापि, उनले आफूमाथि अधिक कार्यभार रहेको महसुस गरेर  छाडे। उनको त्यो निर्णय एक राम्रा क्रिकेट का लागि सही पनि हो। तर , हामी ह्वाइट बलको क्रिकेटमा एकै कप्तान बनाउने लक्ष्यमा थियौं। त्यसैले एकदिवसीय क्रिकेटमा रोहितलाई जिम्मेवारी दिइएको हो ।’

प्रकाशित: २८ मंसिर २०७८ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App