२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रियालसँग लामो सम्झौता गर्दै भिनिसियस

भिनिसियस जुनियरले स्पेनिस ला लिगा महारथी रियाल मड्रिडसँग लामो सम्झौता गर्दै क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोसको उपलब्धि हात पार्न चाहेको संकेत गरेका छन्।

ब्राजिलका भिनिसियसको रियालमा अहिले चौथो सिजन हो। सन् २०१८ सेप्टेम्बरमा रियालबाट डेब्यु गरेका उनले सबै खाले प्रतियोगिता गरी १ सय ३५ खेल खेलिसकेका छन्। लुका मोडरिच ( १३८), थियाबाउट कोर्टाेइस(१४२), कासेमिरो (१४३) र करिम बेन्जेमा (१५५) गर चार खेलाडीले मात्र रियालको अहिलेको टोलीमा भिनसियसभन्दा बढी खेल खेलेका छन्।

रियालबाट सर्जियो रामोसले ४ सय ६८ र रोनाल्डोेले २ सय ९२ खेल खेलेका छन्। रोनाल्डो रियालबाट युभेन्ट्स हुँदै अहिले म्यानचेस्टर युनाइटेड गइसकेका छन् भने रामोस यसै सिजन पिएसजीमा आबद्ध भएका थिए।

२१ वर्षे भिनिसियस र रियालबीच अझै २ वर्ष र ६ महिनाको सम्झौता बाँकी छ। स्पेनिस सञ्चारमाध्यमले भने रियाल र भिनिसियस अहिले नै सो सम्झौता नवीकरणका लागि छलफलमा रहेको उल्लेख गरेका छन्।

मैले यहाँ तीन वर्ष बिताइसकें र म अझै यहाँ धेरै वर्ष बिताउन चाहन्छु,’ उनले भने, ‘म क्रिस्टियानो रोनाल्डो र रामोसजस्तै रियालबाट सर्वाधिक खेलको कीर्तिमान रच्न चाहन्छु।’ मार्सेलोले पनि सान्टियागो बर्नाबेउबाट धेरै खेल खेलेका थिए।

भिनिसियसले सन् २०१७ मा फ्लामिगो एकेडेमीमा रहँदा बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेका थिए। उनले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेकामा कुनै पश्चात्ताप नभएको बताए।

‘ममाथि बार्सिलोनासँगै रियालले पनि इच्छा देखाएको थियो,’ उनले भने, ‘मैले सान्टियागो बर्नाबेउमा जाने निर्णय लिएँ। मैले जे निर्णय लिएँ, त्यो सही थियो। रियालबाट खेल्ने मेरो बाल्यकालदेखिको सपना थियो। म अहिले यहाँ रमाइहेको छु र अझ धेरै वर्ष यहाँ बिताउन चाहन्छु।’ भिनिसियसले यस सिजन सबै खाले प्रतियोगिता गरी १० गोल गरिसकेका छन् भने ५ गोलका लागि असिस्ट गरेका छन्। ‘करिम महान खेलाडी हुन्,’ उनले भने, ‘म अहिले अग्रपंक्तिमा उनको पार्टनरको रूपमा खेलिरहेको छु। उनले मलाई सधैं सहयोग गर्छन्। हामी अहिले सँगै खेलिरहेका छौं।’

प्रकाशित: ८ मंसिर २०७८ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App