२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

गुनवर्द्धने अफगानिस्तानको ब्याटिङ प्रशिक्षक

श्रीलंका क्रिकेटका पूर्वओपनर अभिष्का गुनवर्द्धने अफगानिस्तान क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका छन्।

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले  ट्विटरमार्फत श्रीलंकाका पूर्वक्रिकेटर गुनवर्द्धनेलाई पाकिस्तानसँगको आगामी एकदिवसीय शृंखलाअगाडि ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। एसिबीले दीर्घकालसम्मका लागि गुनवर्द्धनेलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गर्ने चाहना देखाए पनि उनले घरेलु भूमिमा हुने एकदिवसीय शृंखलासम्म कार्यभार सम्हाल्ने भएका हुन्। अफगानिस्तान र पाकिस्तानबीचको उक्त शृंखला सेप्टेम्बर १ देखि श्रीलंकाले आयोजना गर्दै छ। सन् २०१७ मा युएईमा सम्पन्न टी–१० को खेलमा भएको भ्रष्टाचार मुद्दा लागेपछि उनको यो पहिलो  सम्झौता हो।

गुनवर्द्धनेमाथि इमिरेट्स क्रिकेट बोर्डको आर्थिक नियम तोडेको आरोपमा भ्रष्टाचार लागेको थियो। तर, गत मेमा भएको एक स्वतन्त्र समितिको अनुसन्धानपछि उनी निर्दोष साबित भए र उनले प्रशिक्षण करियर अगाडि बढाउने अवसर पनि पाएका हुन्। उनले श्रीलंकाको ब्याटिङ प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन्। साथै उनी श्रीलंका ‘ए’ र इमर्जिङ टोलीका प्रशिक्षकसमेत थिए। तर, करियरको अवसरका रूपमा उनी अफगानिस्तान क्रिकेटको प्रशिक्षकमा नियुक्त भए। तथापि, विद्रोही समूह तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अस्थिर बनेको क्रिकेटमा उनी नियुक्त भएका छन् ।

त्यसैले अब अफगानिस्तानको उदाउँदो गरेको क्रिकेट र समग्र खेलकुद कसरी अगाडि बढ्छ भन्ने बारे हेर्न बाँकी नै छ। यसैबीच अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) का सिइओ हामिद सिनवारीले यसअघिका जस्तै खेलक्षेत्र अगाडि बढ्ने आशा व्यक्त गरेका छन्। ‘हामी बिहीबारदेखि कार्यालय अगाडि बढाउनेछौं।श्रीलंकामा हुने पाकिस्तानसँगको एकदिवसीय शृंखलाका लागि राष्ट्रिय टोलीको प्रशिक्षण पनि छिट्टै सुरु हुनेछ,’ सिनवारीले भने, ‘तथापि,अझै पनि अफगानिस्तानको टोली एकदिवसीय शृंखलाका लागि श्रीलंका जान सम्भव हुन्छ कि हुँदैन भन्ने दुबिधा नै देखिएको छ।’ 

किनकि तालिवानले सत्ता कब्जा गरेपछि काबुल एयरपोर्ट बन्द रहेको छ। त्यसैले पनि अफगानिस्तानले पाकिस्तानसँग खेल्ने तीन खेलको शृंखला दुबिधामा रहेको हो। यी दुईबीच श्रीलंकाको दक्षिण क्षेत्र हम्बन्टोटास्थित महिन्द्रा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बन्द रंगशालाबीच खेल हुने कार्यक्रम छ। सुरुमा यो शृंखला दुबईमा हुने भनिएको थियो। तर, आगामी सेप्टेम्बरदेखि युएईमा इन्डियन प्रिमियर लिग हुने भएपछि यो शृंखला श्रीलंकामा सारिएको हो। 

प्रकाशित: ३ भाद्र २०७८ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App