४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

पिएसजीमा मेसी

बार्सिलोनाका पूर्वस्ट्राइकर लियोनल मेसी फ्रान्सको शीर्ष डिभिजन लिग क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा दुईमा वर्षका लागि जोडिएका छन्।  

बार्सिलोनाबाट बिदा भएका अर्जेन्टिनाका कप्तान लियोनल मेसी पिएसजीमा अनुबन्ध हुने पक्का भएको हो। मंगलबार पेरिस पुगेका मेसीले ‘हेयर इज पेरिस’ टिर्सट लगाएर समर्थकका माझ देखिएका थिए। मेसी आउने भएपछि पेरिसको  ले बर्गेट एयरपोर्टमा उनको स्वागतमा समर्थक उपस्थित भएका थिए। ठूूलो संख्यामा समर्थक पिएसजीको स्टेडियम अगाडि पनि प्रतीक्षा गरिरहेका देखिन्थ्यो । पिएसजीले मेसीसँग दुई वर्षको सम्झौता प्रस्ताव गरेको थियो र सोही प्रस्तावअनुसार मेसीले सम्झौता गर्न लागेका हुन्।

करिब ३५ मिलियन युरोमा पिएसजी भित्रिएका मेसीलाई बुधबार मात्र औपचारिक रूपमा क्लबले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। १३ वर्षको उमेरदेखि बार्सिलोनामा आबद्ध मेसीले २१ वर्ष बिताएपछि स्पेनिस क्लब छाडेका हुन्। तीव्र इच्छा हुँदाहुँदै पनि मेसी क्लबको आर्थिक कानुनी अड्चन र क्लबलाई आर्थिक संकटका कारण बार्सिलोनाबाट बिदा भएका थिए । उक्त बिदाइ कार्यक्रममा भावुक हुँदै मेसीले सबैलाई धन्यवाद दिँदै पिएसजी जाने सम्भावन रहेको अभिव्यक्ति दिएका थिए।  

३४ वर्षे मेसीले पछिल्लो सम्झौता सन् २०१७ मा बार्सिलोनासँग २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए। बार्सिलोनाबाट उनले दर्जनौं कीर्तिमान बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६ सय ७२ गोल गरेका छन्। उनले बार्सिलोनामा रहँदा ३५ उपाधि जित्ने क्रममा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधिको सफलता पनि दिलाए। साथै मेसीले ला लिगामा सर्वाधिक ४ सय ७४ गोल गरेका छन्। सन् २०१७ मा विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट गएका ब्राजिलियन फरवार्ड नेइमार र मेसी पुनः एउटै क्लबाट खेल्ने भएका छन्।  

नेइमारले लामो समयदेखि आफू मेसीको साथमा फेरि एकपटक खेल्न चाहेकोे बताउँदै आएका थिए। तर, उनी बार्सिलोना फर्कन भने पटकपटक असफल रहे। यस्तै रियाल मड्रिडबाट गएका सर्जियो रामोससँग पनि मेसीले सँगै फुटबल खेल्नेछन्। पिएसजीले एक सिजनमा स्पेनिस क्लब रियाल मड्रिडका कप्तान रामोस र बार्सिलोनाका कप्तान मेसीलाई भित्राउन सफल भएको हो। फ्रेन्च क्लब पिएसजीबाट अब विश्वस्तरीय स्ट्राइकर मेसी, नेइमार र केलियन एम्बाप्पेका साथै अनुभवी डिफेन्डर रामोसले एउटै टोलीबाट खेल्ने भएका छन्। 

प्रकाशित: २७ श्रावण २०७८ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App