१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

गौफलाई दोहोरो सफलता

अमेरिकन युवा स्टार कोको गौफले शनिबार इमिलिया रोमाग्ना ओपनको फाइनलमा चीनकी वाङ कियाङलाई हराउँदै पार्मामा भएको डब्लुटिए प्रतिस्पर्धामा दोहोरो सफलता निकालेकी छिन्।

यस प्रतियोगितामा तेस्रो वरीयतामा रहेकी गौफले एकलतर्फको फाइनलमा छैटौं स्थानकी वाङलाई ६–१ र ६–३ ले हराउँदै ७४ मिनेटभित्र नै क्ले कोर्टमा उपाधि जितेकी हुन्। उनले यसअघि सन् २०१९ मा अस्ट्रियामा हार्ड कोर्ट भएको लिन्ज ओपन उपाधि उचालेकी थिइन्। गत हप्ता रोममा सम्पन्न इटालियन ओपनमा पनि उनी सेमिफाइनलसम्म पुगेकी थिइन्। तर, १७ वर्षे गौफले उपाधि जित्ने क्रममा एक मात्र सेट गुमाउँदै एक हप्ता पछि हुने फ्रेन्च ओपनमा बलियो दाबेदारी प्रस्तुत गरेकी छन्। क्ले कोर्टमा हुने फ्रेन्च ओपन यसै मे ३० देखि सुरु हुँदै छ।  

हाल विश्व वरीयतामा ३०औं स्थानमा रहेकी गौफले पछिल्ला २६ खेलमध्ये २० उपाधि जित्दै आफ्नो लयलाई निरन्तर कायमै राखेकी छन्। २९ वर्षीय चीनकी प्रतिद्वन्द्वी वाङसँगको पहिलो भेटमा युवा गौफले चार ब्रेक पोइन्ट बचाएकी थिइन्। चीनबाहिर पहिलो र करियरको तेस्रो उपाधि जित्ने लक्ष्य राखेकी वाङको सपनामा अमेरिकी स्टार गौफ बाधक बन्न पुगिन्। ‘क्ले कोर्टमा यो सफलताले म निकै उत्साहित छु। सबै जना मानिस मसँगै हुनुहुन्छ जस्तो लागेको थियो,’ गौफले भनिन्, ‘मलाई क्ले कोर्टमा खेल्न निकै मन पर्छ। तर सधैं म यसैमा राम्रो गर्न असफल हुन्छु।’

गौफले यस कोर्टमा आफूले राम्रो नतिजा ल्याए पनि प्रदर्शनमा निकै राम्रो भने गर्न नसकेको बताइन्। ‘यो पक्कै पनि राम्रो नतिजा हो। तर, प्रदर्शन सोचेअनुरूप हुन सकेको छैन। क्ले कोर्टमा मैले अझै राम्रो गर्नुपर्छ,’ गौफले भनिन्। गौफले पार्मामा उपाधि क्लिन स्विप गर्ने क्रममा क्याटी म्याकनेलीसँग मिलेर डबल्सततर्फ पनि उपाधि जितिन्। यो अमेरिकन जोडीले फाइनलमा क्रोएसियाका दारिया जुराक र एन्ड्रिया क्लेपाचको जोडीलाई ६–३ र ६–२ ले स्तब्ध पार्‍यो।  

हाल १७ वर्ष ७० दिन पुगेकी गौफ मारिया सारापोभापछि सबैभन्दा कान्छो उमेरमा एकल र डबल्स दुवैको उपाधि जित्ने पहिलो खेलाडी भइन्। सारापोभाले भने सन् २००४ मा बर्मिङ्घममा १७ वर्ष ५५ दिनको उमेरमा एकल र डबल्सको उपाधि जितेकी थिइन्। गौफ जन्मिएको ९२ दिनपछि नै सारापोभाले त्यो सफलता प्राप्त गरेकी हुन्।  

प्रकाशित: १० जेष्ठ २०७८ ०२:३५ सोमबार

गौफलाई दोहोरो सफलता