१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

मेयर साइकल दौड: वालिङका मेयर प्रथम

नयाँ वर्षको अवसरमा पोखरामा आयोजना गरिएको मेयर साइकल दौड प्रतियोगितामा वालिङ नगरपालिका प्रमुख दिलीपविक्रम खाँड प्रथम भएका छन्। उनले ४ किलोमिटर दूरीलाई १५ मिनेट ३१.५३ सेकेन्डमा पूरा गर्दै प्रथम पुरस्कार जित्न सफल भए।

बुधबार बिहान पोखरा–६ हल्लनचोकबाट सुरु भएको दौड पोखरा सभागृहमा आएर टुंगिएको थियो। हुम्ला नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा दोस्रो भए। उनले १५ मिनेट ३८.८८ सेकेन्ड दूरी पूरा गरेका। तेस्रो स्थानमा भने कास्की माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ रहे। उनले १६ मिनेट ४८.५९ सेकेन्डमा दूरी पूरा गरे।

पोखरा महानगरपालिकाको आयोजना र कास्की जिल्ला साइक्लिङ संघको व्यवस्थापनमा वैशाख १ गते नयाँ वर्षको अवसर पारेर मेयर साइकल दौड प्रतियोगिता आयोजना गरिएको हो। कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ नारासहित आयोजित साइकल दौडमा ९ जनाले सहभागिता जनाएका थिए। साइकल दौडका विजेतालाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पुरस्कार प्रदान गरेका थिए। 

प्रथम हुनेलाई १० तोलाको चाँदीको पदक, दोस्रो हुनेलाई ८ तोला र तेस्रो हुनेलाई ७ तोलाको चाँदीको पदकबाट पुरस्कृत गरिएको थियो। महानगरपालिकाले साइकल दौडकै अवसरमा कास्कीबाट १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा साइक्लिङ प्रतिस्पर्धा (डाउनहिल) रजत पदक जितेकी जमुना थापालाई नगद १ लाख रूपैयाँसहित सम्मान गरेको थियो।  

प्रकाशित: २ वैशाख २०७८ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App