८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

भलिबल च्याम्पियनसिप: पुनरागमन गर्दै गण्डकी विजयी

पुलिसकी कोपिला उप्रेतीको स्पाइक ब्लक गर्दै आर्मीका मनीषा ठकुरी र सुनिता खड्का। तस्बिर:उमेश पुन/नागरिक

टाइगर कप क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत बुधबार गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध पुनरागमन जित निकाल्दा विभागीय डर्बीमा भने सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बाजी मारेको छ। एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै गण्डकी प्रदेशले आर्मीलाई ३–१ सेटले पराजित गर्दै बुधबार पहिलो जित निकालेको हो। आर्मीविरुद्ध गण्डकीले लगातार दोस्रो, तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्‍यो।

आर्मीले पहिलो सेट २५–२२ ले जित्दै गण्डकीलाई दबाबमा राख्यो। तर घरेलु दर्शक र कोर्टको फाइदा उठाउँदै गण्डकी दोस्रो सेटबाट लयमा फर्कियो। दोस्रो सेटमा ३–६ ले पछि परेको स्थितिमा गण्डकीले लगातार १३ अंक जोड्दै खेललाई १६–६ को स्थितिमा पुर्‍यायो। दोस्रो सेट भने गण्डकीले २५–१४ ले आफ्नो पक्षमा पार्दै खेल बराबरीको स्थितिमा पुर्‍यायो।  

तेस्रो सेटमा पनि गण्डकीले आर्मीलाई खासै मौका दिएन। २५–१८ ले बाजी मारेपछि गण्डकी जितको संघारमा पुग्यो। चौथो सेटमा भने आर्मी केही समय रेफ्रीको निर्णयलाई अस्वीकार गर्दै कोर्टबाहिर रह्यो। आर्मीले उठाएको बललाई रेफ्रीले फाउल दिएपछि आर्मी आक्रोशित भएको थियोे। सो समयमा आर्मी १८–१५ ले पछि थियो। कोर्टमा फर्किएको आर्मीले  

गण्डकीलाई २५–१७ ले सेट सुम्पिएपछि नतिजा गण्डकी प्रदेशको पक्षमा पुग्यो। पुरुषको दोस्रो खेलमा एपिएफले जित निकाल्न पाँचै सेट खेल्न पुग्यो। पहिलो दुई सेट जित्दै अग्रता बनाएको एपिएफले तेस्रो र चौथो सेट गुमाएपछि खेलको निर्णय पाँचौं सेटमै भयो। पहिलो सेट २७–२५ मा सकेको सशस्त्रले दोस्रो सेट पनि २५–२० मा आफ्नो पक्षमा पार्‍यो।

तेस्रो सेटमा एपिएफलाई २५–१९ मा पन्छाउँदै नेपाल पुलिस खेलमा फर्कियो। चौथो सेटमा भने पुलिसलाई निकै सहज भयो। पुलिसले २५–९ को जित निकालेपछि पाँचौं सेट पुगेरै खेलको निर्णय भयो। अन्तिम तथा निर्णायक सेट भने १५–१० ले आफ्नो पक्षमा पार्दै एपिएफलेले जितको खुसी मनायो।

महिलातर्फ नेपाल पुलिस क्लबले विभागीय डर्बीमा आर्मीविरुद्ध ३–१ को जित निकालेको छ। आर्मीले पहिलो सेट २५–१८ जित्दै पुलिसलाई दबाब दियो। तर दोस्रो सेटमा भने आर्मीले लय गुमायो। सुरुदेखि नै पछि परेको आर्मीले दोस्रो सेट २५–२२ ले गुमायो। तेस्रो सेट २५–२३ को प्रतिस्पर्धात्मक अवस्थामा गुमाउँदा आर्मी हारको संघारमा पुग्यो। चौथो सेट पनि पुलिसले २५–१६ मा सक्दै खेल आफ्नो पक्षमा पार्‍यो।

प्रकाशित: २९ माघ २०७७ ०४:५४ बिहीबार

भलिबल च्याम्पियनसिप