१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नौ महिनादेखि बन्द रहेको खेलकुद प्रशिक्षण सुचारु

सितोरियो करातेको प्रशिक्षणमा सहभागी विद्यार्थी । तस्बिरः नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कोभिड–१९ का कारण बन्द भएको खेलकुद प्रशिक्षण सुचारु गराइएको छ। कोभिड–१९ का कारण नगरपालिकामा झण्डै नौ महिनादेखि बन्द रहेको सितोरियो कराते र फुटबलको प्रशिक्षण पुनः सुचारु गराइएको हो। कोरोना कहरका कारण गत चैत ५ गतेदेखि बन्द रहेको सितोरियो कराते र फुटबलको प्रशिक्षण पुस १ गतेदेखि सुचारु गराइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। जिल्लामा क्रमशः कोरोना संक्रमित भेटिन छाडेको तथा कोरोना महामारीको असर कम हुँदै गएको भन्दै नगरपालिकाले अवरुद्ध खेलकुद प्रशिक्षणलाई सुचारु गराएको हो।  

विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खेलकुलप्रति आकर्षित गर्दै विभिन्न विधाका क्षमतावान र योग्य खेलाडी उत्पादनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि प्रशिक्षक नियुक्ती गरेर फुटबल र सितोरियो करातेको प्रशिक्षण सुरु गरेको थियो। नगरपालिकाले नियुक्ती गरेको प्रशिक्षकले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम मावि र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोद्धय माविमा सितोरियो कराते तथा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा फुटबलको प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको छ। दुर्छिममा ७० जना र महादेवस्थानमा ४५ जनाले सितोरियो करातेको प्रशिक्षण लिइरहेका छन्।  

यस्तै, च्यास्मीटारमा ३५ जनाले फुटबलको प्रशिक्षण लिइरहेको नगरपालिकाले जनाएको छ। फुटबल र करातेको व्यवसायीक बिकासका लागि नगरपालिकाले फुटबल प्रशिक्षकमा सागर राई र सितोरियो करातेको प्रशिक्षकमा मिलन कसजूलाई नियुक्ती गरेको छ। खेल प्रशिक्षक नियुक्ती गरेसँगै नगरपालिकामा २०७६ साल माघ १० गतेदेखि खेल प्रशिक्षण सुरु गरिएको हो। दैनिक बिहान र बेलुकाको समयमा प्रशिक्षणको व्यवस्था गरिएको सितोरियो करातेको प्रशिक्षक कसजूले बताए।  

नगरपालिकाभित्र खेल क्षमता भएका प्रतिभाको पहिचान गर्दै क्षमता अभिवृद्धिका लागि नगरपालिकाले फुटबल र सितोरियो करातेका खेलाडीको प्रशिक्षक नियुक्ती गरेको मेयर राईले बताए। विभिन्न खेलकुद सम्वन्धी प्रतियोगीतामा जिल्ला वा नगरपालिकाको प्रतिनिधित्व गराउनेक्रममा अन्यत्रबाट खेलाडी जम्मा गरेर पठाउनु पर्ने वाध्यता अन्त्याका लागि नगरपालिकामै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेल प्रशिक्षणको व्यवस्था गरिएको हो। हाल स्थानीय तह, वडा वा संघसंस्थाले विभिन्न ठाउँबाट खेलाडी जम्मा गरेर प्रतियोगितामा सहभागी गराउने गरेका छन्। ‘खेलकुदको व्यवसायीक विकास गर्ने हो र खेलाडी उत्पादन गर्ने हो भने सानै उमेरदेखि प्रशिक्षणको आवश्यकता हुन्छ,’ मेयर राईले भने, ‘त्यही तथ्यलाई ध्यानमा राखेर आफ्नै प्रशिक्षक नियुक्ती गरिएको हो। प्रतियोगितामा सहभागी गराउने बेला अन्यत्रबाट खेलाडी खोजेर ल्याउन नपरोस्। आफ्नै खेलाडी होस्।’  

नगरपालिकाले फुटबल प्रशिक्षकका हकमा अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित राष्ट्रिय निर्णायक परीक्षामा उत्तिर्ण गरेको तथा करातेको हकमा थ्रि–डान गरेको र नेपाल कराते महासंघले आयोजना गरेको राष्ट्रिय निर्णायक परीक्षा उत्तिर्ण गरेको मापदण्ड तोकेको थियो। प्रविणता प्रमाणपत्र उत्तिर्ण गरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अफिसियल खेल प्रतियोगितामा सहभागी भएको तथा पदक जितेको, क्षेत्रीय तथा राष्ट्रिय खेल प्रतियोगितामा उत्कृष्ट निर्णायकको भूमीका निर्वाह गरेको, खेल विज्ञान वा शारीरिक शिक्षा विषयमा स्नातक उत्तिर्ण गरी दश महिने वा सोभन्दा बढि अवधिको खेलकुद सम्वन्धी प्रशिक्षण प्राप्त गरेको लगायतका योग्यताको आधारमा खेल प्रशिक्षक नियुक्ती गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: २९ पुस २०७७ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App