६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

जसको अभिवादनले विशेष छाप छाड्यो

कोको गौफ

कोको गौफ आफूले १३ वर्षका उमेरमा ड्राइभिङ सिकेको बताउँछिन्।  पक्कै पनि उनले त्यो गरिन्। यी उनै अमेरिकी उदीयमान महिला टेनिस खेलाडी हुन्,जसले गत वर्ष विम्बल्डनको पहिलो चरणमा पाँच पटककी विजेता भेनस विलियम्सलाई स्तब्ध पारेकी थिइन्। यो नतिजापछि उनले सारा विश्वको ध्यान आफूतर्फ खिचिन्।  

यसै मार्चबाट १६ वर्षमा प्रवेश गरेकी गौफले अस्ट्रेलियन ओपनमा पनि नाओमी ओसाकालाई निराश पार्नुका साथै विश्व वरीयताको शीर्ष ५० भित्र पर्न सफल भइन्। साथै उनले रंगभेदी दुर्व्यवहारविरुद्ध लड्नसमेत निरन्तर आवाज उठाइरहेकी छिन्। सानो उमेर भए पनि उनको धैर्यता र परिपक्वताका कारण उनले धेरै जनाको मन जित्न सफल भएकी छिन्। हेर्न बाँकी छ, उनले कहाँसम्मको यात्रा गर्नेछिन्।  सन् २०१९, जुलाई १, १५ वर्षीया अमेरिकी टेनिस खेलाडी गौफ कोर्टमा उत्रिइन् ,जो आपना आदर्श खेलाडी भेनस विलियम्सविरुद्ध विम्बल्डनमा भिड्दै थिइन्। सन् १९९८ मा विम्बल्डन सुरु भएपछि प्रतियोगिताको मुख्य ‘ड्र’ मा छनोट हुने सबैभन्दा कम उमेरकी खेलाडी भएकाले पनि धेरै जना उनले कस्तो प्रदर्शन गर्छिन् भन्ने पर्खाइमा थिए। प्रतियोगिताका प्रेस अधिकारीहरू उनको नाम ‘गाउफ’ वा ‘गोफ’ के उच्चारण गर्ने भन्ने दुबिधामा थिए। अन्ततः उनीहरूले उनलाई कोरी भन्दै बोलाए।

तर ७ पटककी ग्रान्ड स्लाम विजेताविरुद्ध ६–४,६–४ को सहज जितपछि भने सबै आश्चर्यमा परे। कोकोको आगमन भयो। दोस्रो चरणमा पोलोना हेर्कगविरुद्ध दुई म्याच प्वाइन्टका साथ अन्तिम १६ को यात्रा पक्का गरेपछि भने उनकै खेल हेर्न आउनेको लर्को लागेको थियो। अन्तिम १६ मा भने उनी सिमोना हालेपसँग निराश भइन् । खेल हेर्न आएका समर्थकले गौफको चर्को समर्थन गरेका थिए।  हालेफ नै  विम्बल्डनको उपाधि जितकी थिइन्।  गौफले प्रतियोगितामा विशेष छाप छोडिन्, निकटकै धेरै ग्रान्ड स्लाम जित्ने उदीयमान खेलाडीसाथ। खेलपछि समर्थकप्रति धन्यवाद दिन उनले गर्ने अभिवादनले पनि विशेष छाप छोड्यो। उनको चर्चा चुलियो।  

‘सामाजिक सन्जालमा मेरा फलोअर ३० हजारबाट ५ लाख पुगे एकै रातमा। साथै विश्व खेलकुदका हस्तीले पनि मलाई हौसला प्रदान गर्दै प्रशंसा गरे,’ उनले भनिन्, ‘यो यस्तो क्षण थियो,जहाँ म अभ्यस्त थिइनँ।’ तर पनि गौफ सञ्चारमाध्यममा अनुभवी खेलाडीको रूपमा प्रस्तुत भइन्। प्रेस कन्फरेन्समा उनी ठूलाठूला टेनिस हस्तीसँग एउटै मञ्चमा हुन्थिन्, जहाँ उनले बाहिर बसेर सोचेको भन्दा फरक दृश्य देख्थिन्। ‘म निकै हडबडाएको थिएँ, मलाई गतल नसोच्नुहोला। म  निराश थिइनँ बाहिरबाट तर भित्रभित्र भने निक्कै आत्तिएको थिएँ,’ विलियम्सविरुद्धको जितपछि गौफको प्रतिक्रिया थियो, ‘मेरा आमाबुबाले मलाई सधैं धैर्य गर्न सिकाउनुभयो। उहाँहरू सधैँ भन्ने गर्नुहुन्थ्यो, दबाबले सधैँ केही अवसर लिएर आएको हुन्छ। मैले खेल्ने क्रममा त्यही कुरा मात्र मनन गरें।’

छोरीको ठूलो सफलता उनका बुबा कोरे र आमा क्यान्डीले दर्शकदीर्घमा बसेर बडो खुसीयालीका साथ हेरिरहेका थिए। उनकी आमाको खेलपछिको सेलिब्रेसन सामाजिक सञ्जालहरूमा भाइरल भयो। भेनस र सेरेनाका बुबा रिचार्ड विलियम्सले छोरीहरूको सफलताका लागि धेरै त्याग गरेका छन्। उनीहरूको अभ्यासको व्यवस्था पनि घरमै गरिएको थियो। गौफका बुबा,कलेज बास्केटबलका पूर्वखेलाडी, स्वास्थ्य निर्देशकको पद छोड्दै छोरीको मुख्य प्रशिक्षक बने। जहाँ उनकी आमा क्यान्डी,जो आफैँ कलेजस्तरकी खेलाडी थिइन्। उनले गौफको खाना तथा स्कुलको रेखदेख गर्थिन्। उनको परिवारले सधैं उनलाई ऊर्जा  र हौसता बढाउने काम गरिरह्यो।

‘उपाधिको भोकले नै मलाई सधैं सफलतातर्फ डोर्‍याइरह्यो। मेरा दाइले मलाई सधैं मिहिनेत गर्न सुझाए। मलाई परिवारको दरिलो साथ मिल्यो,’ उनी सम्झिन्छिन्, ‘म जब कुनै प्रतियोगितामा सहभागी हुन्थें, म मेरो दाइ, भाइ र अन्य साथीहरूलाई त्यहाँबाट के ल्याइदिऊँ भन्थें। सबैले एक न एक चिज भनि नै रहेका हुन्थे।’ उनले अस्ट्रेलियान ओपनको चौथो चरणमा प्रवेश गरेसँगै ३० हजार अस्ट्रेलियन डलर प्राप्त गरेकी थिइन्। यस क्रममा उनले तेस्रो चरणमा डिफेन्डिङ च्याम्पियन ओसाकालाई निराश पारेकी थिइन् भने पहिलो चरणमा पनि फेरि एक पटक भेनस विलियम्सलाई ने निराश पारेकी थिइन्। पहिलो सेट जिते पनि उनले सोफिया केननलाई नतिजा सुम्पिइन्। उनले यस पटक पुनः प्रमाणित गरिन्, जुनसुकै खेलाडीका लागि गौफ कठिन प्रतिद्वन्द्वी हुन् भनेर।

‘१४ वर्षको उमेरमा उनी २५ वर्षको खेलाडीभन्दा परिपक्व देखिन्छिन्। अद्भुत ! उनीसँग दृढ संकल्प छ,जुन अरूभन्दा भिन्न छ।’

गौफसँग एक तस्बिर छ,जो सानोमा अर्थर एसी स्टेडियममा खेल हेर्न गएको,जहाँ भेनस विलियम्स खेलिरहेको देख्न सकिन्छ। साथै उनसँग सेरेना विलियम्सले हस्ताक्षर गरेको टेनिस बलसमेत छ। अहिले समर्थक गौफसँगै अटोग्राफ लिन र अन्तर्वार्ताका लागि झुम्मिन्छन्। ‘म क्यामेरामा ध्यान दिन्नँ,आफैँमा केन्द्रित हुन्छु,’ उनले भनिन्, ‘मेरो आदर्श महिला मिचेल ओमाबालाई भेटने ठूलो रहर थियो,जुन कोर्टमा पूरा भयो। उनले मलाई राम्रो सल्लाह दिइन्। उनको प्रभाव धेरै जनामा छ।’ यसै महिनाको सुरुआतमा गौफले मार्मिक अभिव्यक्ति दिँदै पुनः एक पटक सारा विश्वको ध्यान खिचिन्,जहाँ उनले ब्ल्याक लिभ्स म्याटर्स भन्दै सम्बोधन गरेकी थिइन्।  

‘हामीले कडा कदम चाल्न आवश्यक छ,’ गौफले भनेकी थिइन्, ‘यो दुःखको कुरा हो। म यस्तो कुराको विरोध गरिरहेको छु, जुन ५० वर्षअघि मेरी हजुरआमाले पनि गर्नुहुन्थ्यो ।’‘के अब मेरो पालो हो,उनले अमेरिकी प्रहरी दमनमा जर्ज फ्लोयडको मुत्यु भएपछि त्यसको विरोधमा सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै भनेकी छिन्, ‘म सधैँ रंगभेदी दुव्र्यवहारविरुद्ध आवाज उठाइरहन्छु।’ ‘१४ वर्षको उमेरमा उनी २५ वर्षको खेलाडीभन्दा परिपक्व देखिन्छिन्,’ सेरेना विलियम्सका मेन्टर प्याट्रिक मौराटौग्लुले गौफसँगको भेटपछि भनेका थिए, ‘अद्भुत ! उनीसँग दृढ संकल्प छ,जुन अरूभन्दा भिन्न छ।’ लकडाउनको समयमा टिकटक बनाउनुका साथै फ्रेन्च भाषा सिक्न व्यस्त उनी छिटोभन्दा छिटो कोर्टमा फर्कन चाहन्छिन्। ‘म कोर्टमा फर्कन चाहन्छु। मलाई घरमा बस्नभन्दा प्रतियोगिताका लागि यात्रा गर्न मन पर्छ,’ उनले भनिन्।

कोरोना भाइरस महामारीपछि टेनिस प्रतियोगिता पुनः सुचारु हुँदा युएस ओपनबाट सुरु हुनेछ। त्यसको १५ दिनपछि फ्रेन्च ओपन। सबैको एउटै प्रतीक्षा छ, यी प्रतियोगितामा गौफले कस्तो प्रदर्शन गर्छिन्  र उनले कहाँसम्मको यात्रा गर्नेछिन्। प्रतियोगिता सुचारु हुँँदा सबै खेलहरू बन्द रंगशालामा हुनेछन्। ‘मलाई सहज हुनेछ,’ गौफले भनिन्, ‘मैले ठूला प्रतियोगिता खेल्न थालेको मात्र एक वर्ष भयो। म टेनिस प्रतियोगिता बन्द कोर्टमा पुनः सुचारु हुँदा जुनियर प्रतियोगिता खेलिरहेको सम्झनेछु,जहाँ विरलै समर्थक हुन्थे। मेरा समर्थक मेरो परिवार हुनेछन्,जसले टेलिभिजनमा मेरो खेल हेर्नेछन्।’

प्रकाशित: २१ असार २०७७ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App