२ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

सिप्यान अवार्ड चैत तेस्रो साता

काठमाडौं – दोस्रो संस्करणको एनसिसिएस सिप्यान क्रिकेट अवार्ड चैत तेस्रो साता हुने भएको छ। आयोजक क्रिकेट खेल संघ नेपाल (सिप्यान) ले आइतबार पत्रकार सम्मेलन गरेर क्रिकेट खेलमा आबद्ध खेलाडीलाई चैत २१ गते अवार्ड प्रदान गर्ने घोषणा गरेको हो। अवार्ड कुल ५ विधामा प्रदान गरिनेछ। जसमा वर्षखेलाडी महिला र पुरुष, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड रहेको छ। वर्षभरि गरेको प्रदर्शनका आधारमा प्रदान गर्ने वर्षखेलाडी महिला र पुरुषले नगद १ लाख ३२ हजार पाउनेछन् भने अन्य ३ विजेताले समान ६६ हजार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो।

दोस्रो संस्करणका रूपमा आयोजना हुने लागेको अवार्डमा महिला र पुरुष दुवैतर्फका खेलाडीलाई समान पुरस्कार राखिएको सिप्यानका अध्यक्ष डा. मनीषराज पाण्डेले बताए। ‘सबै खेलाडीलाई समान पुरस्कार भएको भन्दै दुवैतर्फका विधामा समान पुरस्कार राशि बनाइएको हो,’ अध्यक्ष पाण्डेले भने, ‘खेलमा सबै खेलाडीले उत्तिकै मिहिनेत गरेका हुन्छन्। त्यसैले समान पुरस्कार राशि तोकिएको हो।’

यस्तै वर्षको उत्कष्ट क्षणको अवार्डका लागि अनलाइन भोटिङको आधारबाट हुने आयोजक पत्रकार सम्मेलनमा जानकारी दियो। त्यसको लागि चाँडै मनोनयन सार्वजनिक गरिने सिप्यानका अध्यक्ष पाण्डेले थपे। अवार्डका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति गठन गरिने आयोजकले जनाएको छ।

अवार्डको मुख्य प्रायोजकमा शैक्षिक संस्था एनसिसिएसले निरन्तरता दिएको छ। सिप्यानसँग सहकार्य गरेर यो अवार्ड गर्न पाउँदा खुसी लागेको एनसिसिएसका प्रिन्सिपल शंकरराज जोशीले बताए।

प्रकाशित: १२ फाल्गुन २०७६ ०४:१८ सोमबार

अवार्ड क्रिकेट