पोखरा – फाइनलका लागि प्लेअफ महत्वपूर्ण हुन्छ। प्लेअफमा पुग्न आफैंमा कठिन हो। अन्तिम ओभरसम्म आइपुग्दा नतिजाले कसरी कोल्टे फेर्छ यकिन हुँदैन। बलबलमा रन जोड्नु पनि आफैंमा चुनौतीपूर्ण। मंगलबार पोखरा रंगशालाको क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्स वारियर्सले यस्तै संघर्षमै बितायो। चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा अपराजित यात्रालाई निरन्तरता दियो। फाइनल सुरक्षित बनायो। काठमाडौंले प्लेअफ खेल्न बुटवल र विराटनगरबीच खेलको नतिजामा भर पर्नुपर्ने बाध्यतामा प-यो।
टस जितेर काठमाडौंले चितवनलाई ब्याटिङको निम्तो दियो। पहिला फिल्डिङ गर्ने रणनीति लियो। रणनीति दोस्रो ओभरमा सफल भयो। लगभग अन्तिम नम्बरमा ब्याटिङमा आउने चितवनका अलराउन्डर करण केसी ओपनिङ सम्हाल्न क्रिज छिरे। तर उनी दोस्रो ओभरमा १ रनमै सुशन भारीको बललाई हिट गर्न खोज्दा विकेटकिपरको हातबाट क्याच हुन पुगे। काठमाडौंका लागि सुशन भारीले ३ ओभर बलिङ गर्ने क्रममा १ मेडन राख्दै १७ रनमा १ विकेट लिए।
कप्तान पारस खड्काले मंगलबार नमस्ते पोखरा प्रिमियर लिगमा काठमाडौंसितको खेलमा करणलाई ओपनिङको जिम्मेवारी सुम्पिए। अघिल्ला खेलमा पारस आफैं ओपनिङमा आउँथे। मंगलबार उनी ब्याटिङ लाइनअपमा नवौं नम्बरमा थिए। चितवनले करणलाई १ रनमै गुमाएपछि बाबर हायात क्रिजमा आए। बाबरले ओपनर रोहन मुस्तफासँग दोस्रो विकेटका लागि १ सय १९ रनको साझेदारी गरे।
बाबरले ३ चौका र ६ छक्काको मद्दतमा ७० रन बनाए। उनी वसन्त रेग्मीको बलमा बोल्ड भए। रोहनले आरिफ शेखसँग तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरे। आरिफ लङअनमा छक्का हान्ने क्रममा बाउन्ड्री लाइनमा गौरव तोमरबाट क्याच भए। सन्नी पटेलसँग रोहनले खासै साझेदारी निभाउन सकेनन्। पटेल पनि १५ रनमै आउट भए। ४ विकेट गुमाएको चितवनले १ सय ६७ रन बनाउँदा रोहन मुस्तफा भने ५९ रनमा अविजित रहे। उनले ५२ बल खेल्दै ६ चौका र १ छक्का हिर्काए।
१ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौं गोल्डेन्स वारियर्सलाई पहिलो ओभरमै झट्का लाग्यो। करण केसीले भुवन कार्कीको हातबाट ओपनिङ गर्न आएका जयकृष्ण कोल्सावालालाई आउट गरे। सन्नी पटेलले दुई विकेट लिने क्रममा केवल ३ ओभर खर्चिए। अमित श्रेष्ठ र गौरव तोमर सस्तैमा पवेलियन फर्किएपछि काठमाडौंलाई विकेट जोगाउन सम्हालिनुप-यो। अमित एलबिडब्लुको धरापमा परे।
१८ रन बनाउने क्रममा ३ विकेट गुमाएको काठमाडौंको इनिङलाई कप्तान ज्ञानेन्द्र मल्लले धैर्यता देखाए। पवन सर्राफसँग कप्तान मल्लले ४४ रनको साझेदारी निभाए। पवन सर्राफ रामनरेश गिरीको बलमा आउट हुँदा २७ रन बनाएका थिए। काठमाडौंको आशा र भरोसाका केन्द्रबिन्दु कप्तान मल्लसमेत आउट भएपछि काठमाडौंलाई निकै सकस भयो। कप्तान मल्ल ४० रनमा आउट भए। ३९ बल खेल्ने क्रममा भुवन कार्कीको बलमा चितवन राइनोजका कप्तान पारस खड्काको हातबाट क्याच भए।
काठमाडौंले छैटौं विकेटका रूपमा पृथु बास्कोटालाई गुमायो। १८ रनमा खेलिरहेका उनलाई पारस खड्काले रोहन मुस्तफाको हातबाट क्याच गराए। काठमाडौंले ९७/८ को कठिन स्थितिमा रह्यो। १६.४ र १६.५ ओभरमा रोहन मुस्तफाले दीपेश र वसन्त रेग्मीलाई पवेलियन पठाए। त्यो ओभरमा मुस्तफाले मेडन ओभर राखे। सन्नी पटेलले ३ विकेट लिए। काठमाडौं ९ विकेट गुमाएर १ सय ७ रनमा समेटिँदै ६० रनले पराजित हुन पुग्यो। म्यान अफ दी म्याच रोहन मुस्तफा भए। लिगचरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सले विराटनगर टाइटान्ससँग खेल्ने छ। काठमाडौंले प्लेअफ खेल्न बुटवलले जित्नुपर्छ। विराटनगरले फराकिलो अन्तरले जित निकालेको अवस्थामा भने काठमाडौं प्लेअफबाट बाहिरिनेछ।
प्रकाशित: ९ पुस २०७६ ०३:५२ बुधबार