२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एपिएफ विजयी

काठमाडौं – टाइब्रेकरमा गोलरक्षक अमृत चौधरीले दुई पेनाल्टी बचाएपछि विभागीय टोली नेपाल एपिएफ क्लबले सिएमजी क्लब संकटालाई पराजित गर्दै राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एपिएफले संकटालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो। निर्धारित समयको खेल १–१ एपिएफ भाग्यमानी ठहरिएको हो।  एपिएफका सुदीप शिख्र्राकार, नवीन लामा, आशिष लामा र राजीव लोप्चनले गोल गरे। संकटाका कप्तान अमित तामाङ र क्षितिजराज जिटी मात्रै गोल गर्न सफल भए। मासऔके पिएरे र रोमन लिम्बुको प्रहार गोलरक्षक अमृत चौधरीले रोकिदिएका थिए।

चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा मंगलबार भएको खेलमा एपिएफले खेलको ३२औं मिनेटमा सन्तोष नेपालीको गोलबाट अग्रता बनाएको थियो। सुदीप शिख्राकारको क्रस पासलाई संकटाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सन्तोषले पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहार गोलरक्षक विनय श्रेष्ठले रोक्ने मौकै  पाएनन्। त्यसअघि १३औं मिनेटमा सन्तोषको प्रहारलाई गोलरक्षकले पन्च गरेर बचाएका थिए।

१८औं मिनेटमा रामकुमार कुमालको बक्सबाहिरको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो। दोस्रो हाफको सुरुमै सुदीपको पासमा राजन गुरुङको हेडर पोस्टबाट थोरै बाहिरिँदा एपिएफले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो। लगत्तै आशिष लामाको प्रहारलाई गोलरक्षकले सहजै बचाइदिए। ४४औं मिनेटमा पेटाङ्गाको हेडर पोस्टबाट थोरै बाहिरियो। ४६औं मिनेटमा एपिएफका राजन गुरुङले गोल गर्न सकेनन्। 

५५औं मिनेटमा संकटाले बराबरी गर्ने सुन्दर मौका गुमायो। राजेन्द्र रावलको बक्सभित्रको सशक्त प्रहार अकासिएको थियो। ६०औं मिनेटमा सुदीपकै क्रसलाई राजीवले फिनिसिङ दिन सकेनन्। ६५औं मिनेटमा मासऔको प्रहारलाई गोलरक्षक अमृत चौधरीले बचाउँदै सम्भावित बराबरी टारे। ७०औं मिनेटमा रोमन लिम्बुको पासमा रोशन पहारी चुके। खेलको अन्तिमतिर संकटाले एपिएफलाई दबाबमा राख्दै बराबरी गोल गर्न सफल भयो। कप्तान अमित तामाङले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

दुई पेनाल्टी बचाएका एपिएफका गोलरक्षक अमृत चौधरी खेलको म्यान अफ दी म्याच घोषित भए। उनलाई ५ हजार रुपैयाँ र म्यान अफ दी म्याचको अवार्ड चन्द्रागिरि नगरपालिका–२ का वडाअध्यक्ष गोपी सुर्खेतीले पुरस्कृत गरे। अब एपिएफले शनिबार सेमिफाइनल प्रवेशका लागि सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार क्वार्टरफाइनलको पहिलो खेलमा बिग्रेड ब्वाइज र नेपाल आर्मी क्लबबीच खेल हुनेछ।

प्रकाशित: ४ मंसिर २०७६ ०३:०६ बुधबार

टाइब्रेकर गोलरक्षक एपिएफ विजयी