९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

फिफा विश्वकप २०२२ छनोट : कुवेतविरुद्धको खेल भुटानमा

काठमाडौं – कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ दोस्रो चरण छनोटअन्तर्गत कुवेतसँग हुने खेल भुटानमा हुने पक्का भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्तिमार्फत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको जनाएको हो। यसअघि छनोट चरणका चार खेल खेलिसकेको नेपालले पाँचौं खेलमा कुवेतलाई घरेलु मैदान दशरथ रंगशालामा आतिथ्य गर्ने तालिका थियो। सोहीअनुसार नेपाल र कुवेतबीचको खेल मंसिर ३ गतेलाई तय भएको थियो।

गत मंगलबार एसियाली फुटबल महासंघ (एएफसी) बाट नेपाल भ्रमण गरेको टोलीले असन्तुष्टि जनाएपछि नेपालले घरेलु मैदानमा खेल्ने मौका गुमाएको थियो। एएफसीले भूकम्पपछि पुनः निर्माण भइरहेको रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण सम्पन्न नभएकाले असन्तुष्टि जनाउदै तटस्थ स्थानमा खेल आयोजना गर्न एन्फालाई पत्राचार गरेको थियो। सो पत्रपछि एन्फाले भुटानको चाङ्लिमिथाङमा गराउने प्रस्ताव फिफा र एएफसीलाई गरे पनि कुवेतले विविध कारण देखाउँदै अन्यत्र खेल सार्न पुनः प्रस्ताव गरेपछि खेलस्थल अन्योलमा परेको थियो।

सन २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रूपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। छनोटका सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको चौथो स्थानमा छ।

यसअघि कुवेतसँग भएको पहिलो अवे खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा चाइनिज ताइपेईलाई उसैको मैदानमा २–० ले हराएको नेपालले तेस्रो खेलमा एसियाली पावर हाउस अस्ट्रेलियालाई ५–० र जोर्डनलाई  ३–० को नतिजा सुम्पिएको थियो।

 

प्रकाशित: २६ कार्तिक २०७६ ०३:५३ मंगलबार

फिफा_विश्वकप