२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

भारतलाई ट्वान्टी–२० शृंखला

नागपुर – तीव्र गतिका बलर दीपक चाहरले अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटकै उत्कृष्ट प्रदर्शन गर्दा ६ विकेट लिएर ७ रन मात्र खर्चिएपछि भारतले आइतबार बंगलादेशमाथि ३० रनको जित निकाल्दै शृंखला आफ्नो पक्षमा पारेको छ।

नागपुरमा सम्पन्न अन्तिम तथा तेस्रो खेलमा चाहरले ह्याट्रिकसहित ६ विकेट लिएपछि भारतले लगातार दुई खेल जित्दै पाहुना टोली बंगलादेशविरुद्धको शृंखला २–१ ले आफ्नो पक्षमा पारेको हो। नागपुरमा १ सय ७५ रनको लक्ष्य पछ्याएको बंगलादेश चाहरको घातक बलिङपछि १९.२ ओभरमा १ सय ४४ रनमै समेटिएको थियो। त्यस क्रममा चाहर ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतका लागि ह्याट्रिक गर्ने पहिलो बलरसमेत भए।

कुल ३.२ ओभर बलिङ गरेका चाहरले ६ विकेट लिँदा ७ रन मात्र खर्चिएर किफायती बलिङ गरे। चाहरले सन् २०१२ मा श्रीलंकाका अजन्था मेन्डिसले बनाएको ६–८ विकेटको रेकर्डलाई पछि पारेका थिए। बायाँहाते ब्याट्सम्यान मोहम्मद नैमले ८१ रनको इनिङ खेल्दै बंगलादेशको तेस्रो विकेट जोगाएका थिए। तेस्रो विकेटका रूपमा मोहम्मद मिथुन २७ रनमा आउट भएपछि बंगलादेशले इनिङ धराशयी बनेको थियो।

त्यसलगत्तै शिवम दुवेले १४औं ओभरको पहिलो बलमा मुस्फिकर रहिमलाई शून्यमै आउट गरेपछि बंगलादेशले लगातार विकेट गुमायो। १६औं ओभरमा पनि दुवेले आक्रामक ब्याटिङ गरेका मोहम्मद नैमलाई क्लिन बोल्ड गर्दै बंगलादेशलाई अर्को झड्का दिए। नैमले आफ्नो अर्धशतकीय इनिङमा १० चौका र दुई छक्का प्रहार गरेका थिए। अर्को बलमा दुवेले अफिफ हुसेनलाई कट एन्ड बोल्ड गर्दै ह्याट्रिकको अवसर सिर्जना गरे।

त्यससँगै बंगलादेशले १५.४ ओभरमा ६ विकेट गुमाउँदा  १ सय २६ रन मात्र बनाएको थियो। खातामा थप चार रन जोड्दा बंगलादेशले कप्तान महमुदुल्लाहलाई ८ रनमा गुमाएपछि भारत जितनजिक पुग्यो। चाहरले २० ओभरमा ह्याट्रिक पूरा गर्दा बंगलादेश चार बलअगावै समेटियो। जितपछि भारतका कप्तान रोहित शर्माले आफ्ना बलरको तारिफ गर्दै उनीहरूको प्रदर्शन उत्कृष्ट रहेको प्रतिक्रिया दिए।

‘आजको खेल जित्नुमा बलरको प्रदर्शन उत्कृष्ट रह्यो,’ शर्माले भने, ‘बंगलादेश एक समय खेलमा उत्कृष्ट अवस्थामा थियो। तर, बलरले मध्यक्रमलाई सस्तैमा आउट गर्दा जित सम्भव भयो।’  त्यसअघि भारतले लोकेश राहुल र श्रेयस ऐय्यरको अर्धशतकीय योगदानको मद्दतबाट निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ऐय्यरले ६२ रन र राहुलले ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

यी दुईको जोडीले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए। अल अमिन हुसेनको बलमा आउट भएका राहुलले ३५ बलमा सात चौका प्रहार गरेका थिए। आक्रामक ब्याटिङ गरेका ऐय्यरले भने ३३ बलमा पाँच छक्का र तीन चौका हिर्काएका थिए। मनीष पाण्ड्याले १३ बलमा नटआउट २२ रन बनाउँदा भारतले विशाल योगफल बनाएको थियो। जुन योगफल भारतले सहजै रक्षा ग-यो।

पहिलो खेल गुमाएको भारतले शृंखलामा उत्कृष्ट पुनरागमन गरेपछि कप्तान रोहित शर्माले आगामी वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा आफ्नो उत्कृष्ट टोली आउने विश्वास प्रकट गरे। भारतले पाहुना टोली बंगलादेशविरुद्धको दुई टेस्ट शृंखलासमेत खेल्नेछ। उक्त शृंखलाको पहिलो खेल आगामी नोभेम्बर १८ देखि इन्दौरमा हुनेछ।  चाहर ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतका लागि ह्याट्रिक गर्ने पहिलो बलरसमेत भए।

प्रकाशित: २६ कार्तिक २०७६ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App