१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

गौरवको योजना अन्तर्गत चौतारामा मिनी रंगशाला

३ नं. प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत चौतारामा प्रस्तावित मिनी रंगशाला।

सिन्धुपाल्चोक- जिल्ला सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रंगशाला निर्माण थालिएको छ। ३ नं. प्रदेश सरकारको गौरवको योजना अन्तर्गत निर्माण थालिएको रंगशालाको सोमबार समाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरे।

प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन इकाइ, काभ्रेमार्फत ४१ करोड ६२ लाख रुपैयाँ लागतमा रंगशाला निर्माण थालिएको हो। क्रमागत योजनाअन्तर्गत रंगशाला निर्माणको लागि सामाजिक विकास मन्त्रालयले चालुसमेत दुई आर्थिक वर्षमा ११ करोड रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयले गत आर्थिक वर्षमा ६ र चालु वर्षमा पाँच करोड रुपैयाँ छुट्याएको हो। गत आर्थिक वर्षमा विनियोजित बजेटबाट ठेक्कासमेत भइसकेको छ।

टक्सार/शान्तिदेवी जेभीले चालु आवमा रंगशाला निर्माणको लागि ६ करोड रुपैयाँको ठेक्का पाएको छ। बहुवर्षीय ठेक्का प्रक्रियाअन्तर्गत चालु वर्षका लागि छुट्याएको बजेटबाट अर्को आवका लागि टेन्डर आह्वान गरिने कार्यान्वयन इकाई प्रमुख पूर्णबहादुर दर्जीले बताए। ‘यो बहुवर्षीय आयोजना हो। निर्माण सम्पन्न नहोउञ्जेल प्रत्येक वर्ष नयाँ टेन्डर आह्वान गरिने छ,’ उनले भने।

इकाइले गत वर्ष मिनी रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको थियो। इकाइका अनुसार रंगशालाको फुटवल मैदान एन्फा (अखिल नेपाल फुटवल संघ) को मापदण्डबमोजिम सय मिटर लम्बाइ र ६५ मिटर चौडाइको हुनेछ। रंगशालामा ६ हजार दर्शक क्षमताको प्याराफिट बन्ने छ भने पाँच सय सवारी साधन अट्ने पार्किङस्थल, ड्रेसिङ रुम लगायत संरचना बनाइने छ। जिल्ला प्रशासन कार्यालयको नाममा रहेको टुँडिखेलमा रंगशाला बनाउन उसले सहमतिसमेत दिइसकेको छ।

मन्त्री दुलालले दिगो विकासको योजनासहित पहाडी रंगशाला निर्माण अवधारणअन्तर्गत गौरवको आयोजनाको रुपमा चौतारामा मिनी रंगशाला निर्माण अघि बढाइएको बताए। राजधानीबाट नजिक रहेको र चिसो हावापानी रहेकाले चौतारामा रंगशाला आवश्यक रहेको जनाउँदै उनले भने, ‘यहाँ बाह्रै महिना खेल सञ्चालन हुने सम्भावना छ।’

सिन्धुपाल्चोकसहित सिन्धुली, नुवाकोट, धादिङ, ललितपुर, दोलखा र रामेछाप गरी सात जिल्लामा चालु वर्षभित्रै मिनी रंगशाला निर्माण अगाडि बढाइने मन्त्री दुलालले जानकारी दिए। ‘प्रदेश नं. ३ का २७ वटा निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न कभर्ड हल निर्माणसमेट अघि बढिसकेको छ,’ उनले भने। प्रदेश सरकारले खेल क्षेत्रको विकास र आवश्यक भौतिक संरचना निर्माणलाई उच्च प्राथमिकता दिएको उनले बताए।

 

               

प्रकाशित: २ भाद्र २०७६ ११:५० सोमबार

रंगशाला चौतारा खेलमैदान