६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

खेलाडी सम्मानमा राखेपको काखापाखा

आठौं राष्ट्रिय खेलकुदको सुटिङमा कीर्तिमान बनाएकी सुस्मिता नेपाललाई पुरस्कृत गर्दै सदस्य–सचिव रमेशकुमार सिलवाल।

काठमाडाैं -  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असार ३१ मा आठौं राष्ट्रिय खेलकुदमा सहभागी विभिन्न ३५ खेलका स्वर्ण विजेतालाई पूर्वघोषित सम्मान रकम उपलब्ध गराएको थियो।  तर एउटै प्रतियोगितामा सहभागी भएका अन्य केही खेलका स्वर्ण विजेतालाई भने राखेपले सम्मान रकमबाट वञ्चित गर्दै विभेद गरेको छ।

राखेपले स्वर्ण विजेतासहित कीर्तिमानी खेलाडीलाई पूर्वघोषित पुरस्कारअनुरूप गत असारको अन्तिम साता पुरस्कृत गरे पनि ३ खेलका खेलाडीलाई भने पुरस्कार दिइएन।  सोही कारण सम्बन्धित खेल संघले सम्मान रकम उपलब्ध गराइदिन राखेपसमक्ष अनुरोध गरिरहेका छन्।

यसअघि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको सम्मान कार्यक्रममा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका जम्मा ६ सय ९६ खेलाडी नगदबाट पुरस्कृत भएका थिए ।  राखेपले व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई जनही १५ हजार तथा टिममा स्वर्ण हात पार्नेलाई जनही ७ हजार नगद पुरस्कार प्रदान गरेको थियो। 

विभिन्न ४ खेलमा राष्ट्रिय कीर्तिमान बनाउन सफल १६ खेलाडीलाई २६ कीर्तिमानका लागि प्रत्येक कीर्तिमानको २५ हजारका दरले नगद पुरस्कार प्रदान गर्दा स्वर्ण र कीर्तिमानका लागि राखेपले ७७ लाख खर्चिएको थियो। आठौं राष्ट्रिय खेलकुदमा एथलेटिक्सका चन्द्रकला लामगादेले २, कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराईले (रिले) तथा सन्तोषी श्रेष्ठले समान १ कीर्तिमान बनाएका थिए। 

पौडीमा गौरिका सिंहले ६, तेन्जिङनोर्गे गुरुङले २, शुभम् श्रेष्ठले २, शायद हम्जा शाहले ३, एलेक्जेन्डर शाहले २, अनुभव सुब्बाले २ र नाथेनदोर्जे शेर्पाले २ कीर्तिमान रचेका थिए।  त्यस्तै सुटिङकी सुस्मिता नेपाल तथा गल्फका टंकबहादुर कार्की र शुक्रबहादुर राईले समान १ कीर्तिमान बनाएका थिए।   तर राष्ट्रिय खेलकुदमै सहभागी केही खेलका खेलाडीले अझै सम्मान रकम पाएका छैनन्।  रकम नपाउनेमा शारीरिक सुगठन, गल्फ तथा ट्रायथोलनका स्वर्ण विजेता छन्।

रकम नपाएको भन्दै शारीरिक सुगठनले उपलब्ध गराइदिन राखेपमा पत्र दर्ता गरेपछि तालिम तथा प्रशिक्षण विभागले आर्थिक प्रशासनलाई स्वर्ण विजेता खेलाडीको रकम उपलब्ध गराइदिन पत्र पठाएको छ। ‘हामीसमक्ष शारीरिक सुगठनले स्वर्ण विजेता खेलाडीका रकम निकासा गरिदिन भन्दै निवेदन दिनुभएको छ,’ तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुनबहादुर विकले भने, ‘सो निवेदनबारे हामीले आर्थिक प्रशासनलाई जानकारी गराइसकेका छाैं।  केही दिनमै रोकिएको रकम निकासा गरिनेछ। ’

शारीरिक सुगठनका उपाध्यक्ष दिनेश राजभण्डारीले गत राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता आफ्ना खेलाडीले अझै पुरस्कार नपाएको पुष्टि गरे। ‘राखेपले वर्गीकरणमा समस्या देखिएकाले स्वर्ण विजेता खेलाडीलाई उक्त दिन रकम उपलब्ध नगराएको जनाएको छ,’ राजभण्डारीले भने, ‘हामीले राखेपमा पत्र दर्ता गराइसकेका छौं।  छिट्टै रकम उपलब्ध हुनेमा हामी आशावादी छाैं। ’

नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा शारीरिक सुगठनअन्तर्गत ५५ केजी तौलसमूहमा सरोज सिंह, ६० केजी तौलसमूहमा आवाज प्याकुरेल, ६५ केजी तौलसमूहमा चन्द्रलक्ष्मण लिम्बु, ७० केजी तौलसमूहमा अनिललाल श्रेष्ठ, ७५ केजी तौलसमूहमा रमेश कार्की, ८० केजी तौलसमूहमा चन्द्रमान श्रेष्ठ र ५० केजीमाथि  नरेश मालाकारले स्वर्ण जितेका थिए।

यता आर्चरी संघका रमेश शिवाकोटीले राखेपका केही कर्मचारीको लापरबाहीका कारण यस्तो अवस्था सिर्जना भएको बताए। ‘आठौं राष्ट्रिय खेलकुद सचिवालयका प्रमुख इन्द्र कार्की र प्राविधिक समितिका रिम रानाभाटले तत्कालीन सदस्यसचिव केशवकुमार विष्टसमक्ष स्वर्णविजेता खेलाडीको सूची लैजाँदा आर्चरीलाई छुटाएका थिए। 

विष्टले तल्काल आर्चरीलाई समावेश गर्न निर्देशन दिएका थिए,’ शिवाकोटीले भने, ‘तर उनीहरूले विष्टको निर्देशनलाई बेवास्ता गरे।  पुरस्कार वितरण गर्ने अघिल्लो दिन हामीले आफूहरूलाई समावेश नगरिए आयोजनास्थलमै नाराबाजी गर्ने चेतावनी दिएपछि खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको निर्देशनमा मात्र आर्चरीका खेलाडीलाई पनि सम्मान कार्यक्रममा समावेश गरिएको थियो। ’

राष्ट्रिय खेलकुदमै सहभागी केही खेलका खेलाडीले अझै सम्मान रकम पाएका छैनन्।  रकम नपाउनेमा शारीरिक सुगठन, गल्फ तथा ट्रायथोलनका स्वर्ण विजेता छन्।

प्रकाशित: २२ श्रावण २०७६ ०३:२३ बुधबार

राखेप काखापाखा स्वर्ण_विजेता