२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

उपभोक्ता समितिमा आफन्तको रजाइँ

बाँके - विकासनिर्माणका काममा छिटो, छरितो र गुणस्तरीय काम होओस् भन्ने उद्देश्यले उपभोक्ता समितिको गठन गरिएको हुन्छ। पछिल्लो समय खेलकुद पूर्वाधार निर्माणमा उपभोक्ता समिति गठन गरेर काम गर्ने क्रम बढेको छ।तर खेलकुद नेतृत्व गर्ने जिम्मेवार पदाधिकारीले उपभोक्ता समितिलाई आफ्नो परिवारका सदस्य र आफूनिकट व्यक्ति राख्ने ठाउँ बनाएका छन् ।

बाँकेमा खेलकुद निर्माणका लागि बनेका उपभोक्ता समिति आफन्तको रजाइँ गर्ने थलो बनेका छन्।बाँकेस्थित खजुराको शुक्र भलिबल एकेडेमीले  यस कुराको पुष्टि गर्छ, जहाँ राष्ट्रिय खेलकुद परिषद्ले डेढ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ।

क्षेत्रीय खेलकुद विकास समिति प्रदेश– ५ का अध्यक्ष भीम ओलीले आफ्ना दाइ धनिरामलाई शुक्र भलिबल एकेडेमी निर्माण उपभोक्ता समितिमा राखेर काम गरेका छन्।त्यस्तै ओलीले आफ्ना भाइ मुमबहादुर ओलीलाई आफ्नो गाउँको विद्यालयमा रकम खर्च गर्दा उपभोक्ता समिति अध्यक्ष बनाएको तथ्य खुलेको छ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगितादौरान शुक्र माविको खेलमैदानमा माटो पटानका लागि बनेको उपभोक्ता समितिका अध्यक्ष हुन् मुमबहादुर ।

क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष ओलीले दाइ र भाइमार्फत निर्माण गरेको पूर्वाधारमा १ करोड ६३ लाख ७८ हजार ५ सय ७४ रुपैयाँ खर्च भइसकेको छ। अध्यक्ष ओलीले आफ्नो गाउँमा बनिरहेको शुक्र भलिबल एकेडेमीमा पहिलो फेजमा ७५ लाख ९० हजार ६ सय ६८ रुपैयाँ रकम विनियोजन गरेका थिए, जुन रकम राखेपबाट भुक्तानी भइसकेको छ।दोस्रो फेजमा ८७ लाख ६ हजार १ सय १४ रुपैयाँ ६७ पैसा खर्च भएको भन्दै भुक्तानी दिन उपभोक्ता समितिले क्षेत्रीय खेलकुद विकास समितिलाई बिल पेस गरेको छ।

स्थानीयलाई बेवास्ता गर्दै अध्यक्ष ओलीले आफ्ना दाइलाई शुक्र भलिबल एकेडेमी निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाएर काम गरेको एक स्थानीयले गुनासो गरे।नाम नबताउने सर्तमा उनले भने, ‘उपभोक्ता समिति निर्माण कसरी भयो भन्ने धेरैलाई थाहा छैन।नियमसंगत उपभोक्ता समिति गठन भएको छैन।भलिबल एकेडेमी बनिरहेको जमिन शुक्र माविको हो।स्थानीयसँग पूर्वाधार निर्माणबारे छलफल भएन।विद्यालयसँग सम्झौता नहुँदै एकेडेमी निर्माण कार्य सुरु भएको थियो।विद्यालयसँग पछि सम्झौता गरियो ।’

आफ्नो चार वर्षे कार्यकालमा ओलीले सुरुआत गरेको नयाँ योजना हो शुक्र भलिबल एकेडेमी।जुन उनको गाउँ खजुरा गाउँपालिकाको रिमझिम चोकमा निर्माण भैरहेको छ।

संघीय संरचनाअनुसार स्थानीय टोल, गाउँ, सहरमा उपभोक्ता समितिमार्फत विकासनिर्माणको रकम खर्च गरिने क्रम बढ्दो छ।समितिले स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ।तर पछिल्लो समय उपभोक्ता समितिमा आफन्त र आफू निकट व्यक्ति राख्ने केन्द्र बनेको छ । क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओली गाउँका अगुवा जनप्रतिनिधिको उपस्थितिमा उपभोक्ता समिति गठन गरेको बताउँछन्।उनले भने, ‘सक्रियताको आधारमा उपभोक्ता समिति गठन गरिएको हो।उपभोक्ता समितिका बसेका व्यक्ति खेलकुदसँग जानकार छन्।उनीहरूको क्षमताका आधारमा जिम्मेवारी दिइएको हो।सक्रियताको आधारमा समिति गठन गर्दा कहीं भान्जा परे होलान्, कहीं भाइ–दाइ परे  होलान्।यो ठूलो कुरा होइन।काम कस्तो भएको छ त्यो महŒवपूर्ण हो ।’ गत वैशाखमा प्रदेश– ५ मा आठांै राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो।

राष्ट्रिय प्रतियोगिताका लागि क्षेत्रीय खेलकुद विकास समितिले दुई दर्जन पूर्वाधारका लागि बजेट खर्च गरेको छ।पूर्वाधारमा रकम खर्च गर्दा मनोमानी ढंगले खर्च गरिएको छ । खेलकुद विकास समितिले निर्माण गरेको २४ योजनामध्ये अध्यक्ष ओलीले आफ्नो गृह जिल्ला बाँकेमा २३ वटा योजनामा रकम छुट्याए।बाँकेमा खर्च भएका २३ योजनामध्ये ओलीले आफ्नो गाउँवरपर मात्रै १३ योजनाका लागि रकम खर्च गरेका छन्।

क्षेत्रीय खेलकुद विकास समितिको लेखा शाखाका अनुसार ओलीको कार्यकालमा क्षेत्रीय खेककुद विकास समिति प्रदेश– ५ ले ५ करोड २२ लाख, ७२ हजार ८ सय ९३ रुपैया रकम पूर्वाधारमा खर्च गरेको छ।त्यसमध्ये ओलीले आफ्नो गाउँपालिकामा झन्डै २ करोड रकम खर्च गरेका छन्।ओलीले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भएका विभिन्न १३ खेलकुद योजनामा ओलीले १ करोड ८६ लाख ५३ हजार २ सय ९५ रकम खर्च गरेको क्षेत्रीय खेलकुद विकास समितिको लेखा शाखाले बताएको छ।

रकम छुट्याउँदा बोर्डमा छलफल नै नगरी अध्यक्षले रकम छुट्याउने गरेको क्षेत्रीय खेलकुद विकास समितिका एक पदाधिकारीले बताए।उनले भने, ‘अध्यक्षलाई उपभोक्ता समिति गठन र योजना छनोट गर्दा सबै क्षेत्रतिर समेट्नुपर्ने सुझाव दिएका हौं।तर उहाँले मान्नु भएन।आफ्नो क्षेत्रमा बढी योजना छनोट गर्दै रकम विनियोजन गर्न दबाब दिनुभयो ।’

प्रकाशित: २८ जेष्ठ २०७६ ०३:२२ मंगलबार

उपभोक्ता बेथिति