१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

आयोजकलाई रोक्दै सरस्वती सेमिफाइनलमा

काठमाडौं - आयोजक दीपशिखा युवा  समूहलाई २–० ले पराजित गर्दै ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लब मंगलबार दोस्रो संस्करणको चन्द्रागिरि रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सरस्वतीको जितमा सुजित बुढाथोकी र सन्जीव लामाले गोल गरे।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुदेखि नै सरस्वतीले पकड बनाएको थियो। तर, घरेलु टोलीविरुद्ध सरस्वतीले गोल गर्न निकै संघर्ष गर्नुप-यो। ३६औं मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै सरस्वतीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। उनले गोलरक्षक विष्णु केसीले फालेको लामो बललाई दीपेश श्रेष्ठले मिलाइदिएको पासमा दोस्रो बार च्याप्दै गोल गरेका थिए। खेलको ७७औं मिनेटमा सञ्जीव लामाले गोल गर्दै सरस्वतीलाई २–० को जित दिलाए।

दोस्रो हाफमा आयोजकले सरस्वतीलाई दबाबमा राखे पनि घरेलु टोली फिनिसिङमा लगतार चुक्दा पराजित हुन पुग्यो। सरस्वतीका सुजित बुढाथोकी खेलको म्यान अफ दी म्याच घोषित भए। उनले जनही ५ हजार रुपैयाँ पाए।

दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा बुधबार अन्तिम क्वार्टरफाइनलमा ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडबीच खेल हुनेछ। खेल दिनको ठीक ३ बजे हुनेछ। प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन्।
 
 

प्रकाशित: १८ वैशाख २०७६ ०२:३७ बुधबार

दीपशिखा_युवा_समूह चन्द्रागिरि_गोल्डकप सरस्वती_युवा_क्लब