३ माघ २०८१ बिहीबार
image/svg+xml
खेल

गोल्डेन गेट र एनसिसीको जित

काठमाडौं – गोल्डेन गेट कलेज र नेपाल कमर्स क्याम्पस (एनसिसी) ले  गोल्डेन गेट कलेज प्रिमियर लिगको चौथो दिन जित हासिल गरेका छन्। त्रिभुवन विश्वविद्यालय (टियु) मैदानमा बुधबार भएको पहिलो खेलमा गोल्डेन गेटले ओमेगा कलेजलाई ६३ रनले हराउँदै सुखद सुरुआत गरेको छ।

गोल्डेन गेटले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको ओमेगाले २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १ सय ६ रन  बनाएपछि हार बेहोर्याे। मध्यक्रममा रवि सिंहले ३९ र अमृत थापाले २८ रन जोडे पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। रविले २८ बलमा ६ चौका र १ छक्का तथा अमृतले ३७ बलको सामना गर्दै ४ चौका प्रहार गरे। ओपनर विपिन शाही २, विवेक बुढाथोकी ७, अभियान बस्नेत १८ र अमन जैन १ रनमा आउट भए। 

गोल्डेनगेटका नन्दन यादवले २ तथा अमरसिंह राउटेला, अविनाश बोहोरा, दीपेन्द्र राउत र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारेका थिए। त्यसअघि ब्याटिङ गरेको गोल्डेनगेटले शरद् भेषावकर र दीपेन्द्रसिंह ऐरीले पहिलो विकेटका लागि ४.३ ओभरमा ५७ रनको आक्रामक सुरुआत दिलाएका थिए। 

दीपेन्द्र १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रन जोड्दा शरद २२ रन बनाएर आउट भए। सुमित महर्जन र सुशान्तसिंह थापाले ८९ रनको साझेदारी गर्दै गोल्डेन गेटलाई उकासेका थिए। सुमितले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६५ रन बनाउँदा सुशान्तले २५ बलमा २४ रन जोडे। ओमेगाको बलिङमा मञ्जरत्नकुमार शाहले ३, अफजल अली र अभियान बस्नेतले २–२ तथा रवि सिंहले १ विकेट लिएका थिए। 

त्यसअघि पहिलो खेलमा शंकरदेव क्याम्पसलाई ४७ रनले हराउँदै नेपाल कमर्स क्याम्पस (एनसिसी)ले सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ। एनसिसीले प्रस्तुत गरेको १ सय ५४ रन पछ्याएको शंकरदेवले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७ रन मात्र बनाएपछि हार बेहोर्याे।

शंकरदेवलाई रोक्न एनसिसीका दीपेन थापाले तीन र भुवन कार्कीले दुई विकेट लिएका थिए। शंकरदेवका रवीन्द्र चन्दले ४२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। रवीन्द्रले ३६ बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए। एनसिसीका लागि निकै कसिलो बलिङ गरेका अनुभवी स्पिनर भुवनले चार ओभरमा मात्र ७ रन खर्चिएका थिए। 

त्यसअघि एनसिसीलाई एक पटक फेरि अमित श्रेष्ठले राम्रो सुरुआत दिलाएका थिए। अमितले प्रकाश विष्टसँग पहिलो विकेटका लागि ५२ रनमा साझेदारी गरे। अमितले २४ बलमा पाँच चौका प्रहार गर्दै २८ रन बनाउँदा प्रकाशले १६ बलमा चार चौकाको मद्दतमा २४ रन जोडे। सुशान्तले १६ बलमा एक छक्का र एक चौका प्रहार गर्दै २२ रन बनाए। 

शंकरदेवका ललित प्याकुरेलले २ तथा सन्दीप खड्का, कमल ओली, गजेन्द्र बोहोरा र विनोद भट्टराईले १–१ विकेट लिए। समूह ‘बी’ मा एनसिसी र हिमालयन कलेजको समान २ अंक छ। शुक्रबार शंकरदेव र हिमालयनबीच हुने अन्तिम लिग खेलले समूहबाट सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ।

प्रकाशित: १४ चैत्र २०७५ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App