९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

इण्डियन प्रिमियर लिग : चेन्नईको लगातार दोस्रो जित, दिल्ली ६ विकेटले पराजित

काठमाडौं – चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित दर्ता गरेको हो।

पहिलो खेलमा मुम्बई इण्डियन्सविरुद्ध जित हात पारेको दिल्ली चेन्नईसँग भने पराजित हुन पुग्यो। चेन्नईले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

फिरोज साह कोट्ला स्टेडियममा दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो। चेन्नईको जितमा शेन वाट्सनले सर्वाधिक ४४ रनको योगदान दिए।

२६ बल खेलेका उनले ४ चौंका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै कप्तान महेन्द्रसिंह धोनीले नटआउट ३२, सुरेश रैनाले ३० र केदार जादबले २७ रन बनाए। अम्बाती रायडु ५ र ड्वाने ब्राभोले नटआउट ४ रन जोडे। बलिङतर्फ दिल्लीका अमित मिश्राले २ तथा ईशान्त शर्मा र कागिसो रबडाले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। दिल्लीका लागि ओपनर शिखर धवनले ५१ रनको अर्धशतकिय पारी खेले। उनले ४७ बलमा ७ चौंका प्रहार गरे।

त्यस्तै ऋषब पन्तले २५, पृथ्वी शले २४, श्रेयस आयरले १८ र राहुल टेवाटियाले नटआउट ११ रन बनाए। अक्षर पटेलले ९ र कोलिन इनग्रामले २ रनको योगदान दिँदा किमो पाउल शून्य रनमा आउट भए।

चेन्नईका लागि ड्वाने ब्राभोले सर्वाधिक ३ विकेट लिए। त्यस्तै दिपक चाहार, रबिन्द्र जडेजा र इम्रान ताहिरले समान एक–एक विकेट हात पारे। यो खेलमा दिल्लीले नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई खेलाएको थिएन्।

 

प्रकाशित: १३ चैत्र २०७५ ०४:५८ बुधबार

आइपिएल चेन्नई_सुपर_किंग्स