५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

साफले चिनायो विराटनगर

विराटनगरमा समपन्न पाँचौं साफ महिला फुटबल प्रतियोगिता हेर्न आएका दर्शक।    तस्बिर : नागरिक

विराटनगर – नेपाली फुटबलको इतिहासमा विराटनगरले विभिन्न तरिकाबाट इतिहास रच्दै आएको छ। विराटनगर राजनीतिक कारणले मात्र चर्चित छैन, खेलक्षेत्रका कारण पनि चर्चामा छ। अन्तर्राष्ट्रिय स्तरमा भने भारतका केही स्थानबाहेक अन्य मुलुकले थाहा नपाएको ठाउँ हो विराटगर। तर यो सहर अहिले एकाएक अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा आएको छ। यहाँ पहिलो पटक सम्पन्न फुटबल प्रतियोगिताको पाँचौं संस्करणले विराटनगरलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएको हो। 

विराटनगरले मोफसलमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने मौका पाएबाट यहाँका खेल सम्बद्ध निकाय मात्र नभई समग्र प्रदेश १ वासी नै गौरवान्वित भएको विभिन्न क्षेत्रका व्यक्तिले बताएका छन्। विराटनगरमा सम्पन्न साफ खेलले विराटनगर मात्र नभई समग्र  प्रदेश फुटबलमय भएको मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमालले बताए। ‘यो साफ खेल गराउन पाउनु नै हाम्रा लागि भाग्यको कुरा हो,’ धिमालले भने, ‘अब प्रदेश १ को अस्थायी राजधानी मात्र नभई स्थायी राजधानी र खेल जगत्को हब नै विराटनगर बन्ने कुरामा दुई मत नभएको यसबाट पुष्टि हुन्छ।’ ‘विराटनगरले अवसर मात्र पाएको थिएन,’ धिमालले थपे, ‘पाएका अवसरलाई खेर फाल्न दिएनौं। कहाँ, कसलाई भनेर कसरी हुन्छ यहाँ ठूलो प्रतियोगिता गर्नुपर्छ भनेर लाग्यौं। संघको पूरै टोली नै लाग्यो।’ 

नेपालकै फुटबलमा अग्रस्थान बनाउन सफल प्रदेश १ को अस्थायी राजधानी विराटनगरको पुरानो परिचय पाँचौं साफ महिला च्याम्पियनसिपले बदलिएको छ। फुटबल खेलको विकासका लागि सन् १९५१ मा स्थापित  भएको थियो अखिल नेपाल फुटबल संघ (एन्फा)। एन्फा स्थापना भएको ६८ वर्षपछि बल्ल मोफसलले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको मौका पाएको हो। यस साफ प्रतियोगितासँगै अब विराटनगरले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने सन्देश दिएको छ। 

फुटबल क्षेत्रका विज्ञहरूले पनि नेपाली फुटबलको इतिहासमा धेरै योगदान पुर्याएको र छुट्टै एवम् विशेष महत्व राख्ने मोफसलले पहिलो पटक पाएको अवसरलाई सदुपयोग गरेको बताएका छन्। विराटनगरसँगै सिंगो प्रदेशकै योगदान महत्वपूर्ण रहेको र यस आयोजनाले खेलकुद क्षेत्रमा विराटनगरको उचाइ थप गरेको उनीहरूले बताएका छन्।

मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्यले भने, ‘यो भौतिक संरचनालाई सबैले माया गरेर संरक्षण गर्नुपर्छ।’ सहिद रंगशालालाई मुलुककै नमुना बनाउन सकिने र बनेका संरचनालाई संरक्षण गर्ने दायित्व सबै खेलआबद्ध संस्थाको हो। यसलाई संरक्षण गर्दै नयाँ संरचना थप्न सम्बन्धित निकायलाई दबाब दियो भने नमुना रंगशाला बन्न सक्छ। ‘जुन सोचका साथ प्रतियोगिता हुनुपथ्र्यो, त्यसअनुरूप नभए पनि साफले विराटनगर मात्रै नभई सिंगो प्रदेशको उचाइ बढाएको छ,’ अमात्यले भने, ‘प्रतियोगिता हेर्न दर्शक कमै आएका हुन्। त्यसको पछाडि प्रचारप्रसारमा कमी भएकै हो।’ अन्तर्राष्ट्रिय प्रतियोगिताको नयाँ र पहिलो अनुभव भएकाले पनि सबै पक्षसँग समन्वयको अभाव देखिएकको अमात्यको भनाइ छ। आउँदा दिनमा यसलाई ध्यान दिन जरुरी रहेको उनले बताए। 

‘सबै प्रकारका प्रतियोगिता काठमाडौं केन्द्रित भए भनेर आवाज उठाउँदै आएका थियौं,’ पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँले भने, ‘मोफसललाई अवसर दिनुपर्छ भनेर एन्फासँग हामीले ४० वर्षदेखि लडाइँ लड्यौं। बल्ल अहिलेको समितिले सुनुवाइ गर्याे।’

यस प्रतियोगिताले विराटनगर पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भनेर सबैलाई सन्देश दिएको छ। ‘गर्मीका कारण पनि दर्शकको उपस्थिति कम भएको हो,’ बानियाँले भने, ‘यहाँ फुटबलको क्रेज धेरै छ। घामका कारण दर्शक कम आएका हुन्, यदि यो खेल रात्रिकालीन बनाउन सकेको भए दर्शकको उपस्थिति देखेर सबै छक्क पर्थे।’ यसलाई मुलुक संघीय संरचनामा गइसकेपछि संघीयताबाट प्राप्त भएको एउटा महत्वपूर्ण अवसर र ठूलो उपलब्धिका रूपमा लिन सकिन्छ।

‘प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी लिनुमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश १ सरकारको ठूलो योगदान छ,’ बानियाँले भने, ‘थोरै समयलाई उच्चतम सदुपयोग गर्दै फुटबलको एउटा कुम्भमेला लगाउन हामी सफल भएका छौं। महानगर र प्रदेश सरकारको संयुक्त पहलमा चाँडै रंगशालामा फ्लड लाइटको व्यवस्था हुँदै छ। यहाँ लाइटको व्यवस्था भयो भने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सहज हुनेछ। विराटनगर खेलकुदको नगरी भनेर सबैले चिन्दै अएका थिए, साफ खेलले विराटनगरको चिनारीमा थप बल पुगेको छ।’

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का पर्यटन प्रमुख भविसकुमार श्रेष्ठले भने, ‘यस्तो खालको प्रतियोगिता हुनु जरुरी छ। यसबाट होटल र पर्यटन व्यवसायीलाई मात्र फाइदा नपुग्ने नभई सबैलाई फाइदा पुग्छ।’ 

प्रकाशित: १० चैत्र २०७५ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App