२ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

सुदूरपश्चिम गोल्डकपलाई नेपाल आइसको साथ

काठमाडौं – सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको अयोजनामा पुस २४ गतेबाट सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम गोल्डकपलाई सिजी ग्रुपको नेपाल आइस ब्रान्डले मुख्य प्रायोजन गर्ने भएको छ। शनिबार राजधानीमा आयोजित सम्मझौता कार्यक्रममा सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमाल र सिजी ब्रुअरीका सिनियर जनरल म्यानेजर प्रदीप पुडासैनीले सम्झौतापत्रका हस्ताक्षर गरेका थिए। यद्यपि प्रायोजन रकम भने खुलाइएको छैन। पहिलो संस्करणमा मुख्य प्रायोजकबिनै प्रतियोगितामा होमिएको सुदूरपश्चिमले दोस्रो संस्करणबाट सिजीको साथ पाएको थियो।

माघ ५ गतेसम्म चल्ने प्रतियोगिता नकआउट चरणमा खेलाइने र प्रतियोगितामा एक विदेशी गरी कुल १२ क्लबको सहभागिता रहने अध्यक्ष हमालले बताए। हमालले अहिलेसम्म आयोजक सुदूरपश्चिम–११, थ्री स्टार क्लब, सिएमजी संकटा क्लब, गोर्खा ब्वाइज, नेपाल पुलिस क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर, एपिएफ क्लब, दिल्ली युनाइटेड भारत,च्यासल युथ क्लब लगातयका क्लबले सहभागिता सुनिश्चित गरेको बताए। सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दीले भने आइतबारसम्ममा प्रतियोगितामा सहभागी हुने वा नहुने बारे निर्णय दिने उनले बताए।

साथै हमालले गत वर्ष सर्लाहीमा सम्पन्न राजर्षि जनक गोल्डकपको फाइनलमा आफ्ना खेलाडीमाथि हात पात गरेका कारण त्रिभुवन आर्मी क्लबलाई भने यस पटक प्रतियोगितामा सहभागिता नगराइएको बताए। प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ र ट्रफी प्रदान गरिने हमालले बताए। ‘सुदूरपश्चिममा शून्य अवस्थामा रहेको फुटबल यस प्रतियोगिताको सुरुआतपछि ब्युँतिएको छ,’ हमालले भने, ‘हामी अझै यस क्षेत्रमा फुटबलको सक्रियता बढाउनुका साथै फुटबल एकेडेमी सञ्चालन गर्दै यिस क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्न चाहन्छाैँ।’

प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १०÷१० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि करिब १ करोड ४० लाख खर्च लाग्ने आयोजकले जनकारी दिएको छ। एन्फाले गरेको मोफसलका गोल्डकपको वर्गीकरणमा खप्तड ‘क’ वर्गको हो। ‘हामी खप्तड गोल्डकपसँग लगातार दोस्रो पटक जोडिन पाउँदा हर्षित छाैँ,’ पुडासैनीले भने, ‘सुदूरपश्चिमको समग्र फुटबल विकासमा हामी सधैं साथ दिन चाहन्छाैं। त्यसैले यो सम्झौताले आगामी वर्षमा पनि निरन्तरता पाउनेमा म विश्वस्त हुन आग्रह गर्न चाहन्छु।

प्रकाशित: १५ पुस २०७५ ०३:०५ आइतबार

सुदूरपश्चिम_गोल्डकप नेपाल_आइस प्रायोजन