१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : मनाङलाई पछ्याउँदै थ्री स्टार

मच्छिन्द्रविरुद्ध बल अगाडि बढाउने प्रयास गर्दै थ्री स्टारका नीराजन खड्का (नीलो) । तस्बिर सौजन्यः एन्फा

काठमाडौं – मच्छिन्द्र क्लबलाई १–० ले पराजित गर्दै शनिबार ललितपुरे टोली थ्री स्टार क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ।

हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा सम्पन्न खेलमा ११औं मिनेटमा रञ्जित धिमालले गरेको गोल नै निर्णायक बनेको थियो। रञ्जितले पेनाल्टीबाट गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। पेनाल्टी बक्सभित्र नीराजन खड्काले हानेको कडा सट मच्छिन्द्रका विदेशी रक्षक साहिद आनिफोउसेले रोक्ने प्रयास गर्दा हातमा लागेपछि थ्री स्टारले पेनाल्टीको अवसर पाएको थियो।

रञ्जितले पेनाल्टी अवसरलाई सहजै गोलमा परिणत गरेका थिए।  यो सँगै रञ्जितले जारी लिगमा सातौं गोल पूरा गरेका छन्। उनी सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा अग्रणी स्थानमा छन्। रञ्जितले ७ मध्ये ५ गोल पेनाल्टीमा गरेका छन् भने २ गोल फ्रिकिकमार्फत गरेका छन्। मनाङका अञ्जन विष्टको नाम ५ गोल  छ। उनी दोस्रो स्थानमा छन्।

थ्री स्टार खेल अवधिभर हाबी भए पनि गोल गर्न भने सकेन। थ्री स्टारले बनाएका केही राम्रा अवसरलाई मच्छिन्द्रका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए। जारी लिगमा गोल गर्न नसकेको मच्छिन्द्रले पनि पहिलो र दोस्रो हाफमा गोलका लागि निकै संघर्ष गरे पनि बललाई जालीसम्म पुर्याउन सकेन। २४औं मिनेटमा मच्छिन्द्रका टंकप्रसाद गुरुङले पेनाल्टी बक्सबाहिरबाट हानेको सशक्त प्रहार माथिल्लो बारनजिकैबाट बाहिरिएको थियो भने दोस्रो हाफमा पनि सोही अवस्था दोहिरिँदा मच्छिन्द्रले चुकचुकाउनुपरेको थियो। २८औं मिनेटमा रञ्जन विष्टको क्रसपासलाई अनिल गुरुङको हेड गर्दा मच्छिन्द्रका गोलकिपर दीपले सहजै नियन्त्रणमा लिएका थिए भने २१औं मिनेटमा सुनील बलको कर्नर बलमा रञ्जन विष्टको हेड पनि खेर गएको थियो।

शनिबारै सम्पन्न दिनको पहिलो खेलमा नवप्रवेशी च्यासल युथ क्लबले ब्रिगेड ब्वाइजमाथि २–० को नतिजा निकाल्दै जारी लिगमा चौथो जित दर्ता गराएको छ।

पहिलो हाफमा अग्रता लिएको थ्री स्टारले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्न सकेन। तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको मच्छिन्द्रको रक्षात्मक रणनीति तोड्न सकेन। बाँकी समय थ्री स्टारले आक्रामक खेले पनि मच्छिन्द्रका रक्षकले उत्कृष्ट प्रदर्शनलाई जारी राखे। दोस्रो हाफमा रक्षात्मक हुँदै काउन्टर गर्ने रणनीति बुनेको मच्छिन्द्रले लिगमा गोल गर्दै खाता खोल्ने योजना बनाए पनि सफल हुन सकेन। मच्छिन्द्रले आठौं खेलसम्म आइपुग्दा लिगमा कुनै पनि विपक्षीविरुद्ध गोल गर्न सकेको छैन।

जितसँगै थ्री स्टार २१ अंकका साथ शीर्ष स्थानमा २४ अंक बनाएको  मनाङलाई पछ्याइरहेको छ। थ्री स्टारले मनाङसँग बाहेक अन्य सबै खेलमा जित दर्ता गरेको छ। मच्छिन्द्रले भने जितविहीन यात्रा तोड्न सकेको छैन। ८ मध्ये ५ मा पराजय र ३ मा बराबरी खेलेको मच्छिन्द्रको तालिकामा ३ अंक छ।

यस्तै, शनिबारै सम्पन्न दिनको पहिलो खेलमा नवप्रवेशी च्यासल युथ क्लबले ब्रिगेड ब्वाइजमाथि २–० को नतिजा निकाल्दै  जारी लिगमा चौथो जित दर्ता गराएको छ। पहिलो हाफ गोलरहित बराबरी खेलेको च्यासलले दोस्रो हाफमा दुई गोल गरेको थियो। सन्तबहादुर गुरुङले ६५औं मिनेटमा गोल गर्दै च्यासलको खाता खोलेका थिए।  यस्तै खेल सकिन आठ मिनेट बाँकी रहँदा सन्जोक राईले गोल गर्दै च्यासलको जित सुनिश्चित गरेका थिए।

सन्तोष साहुखलको पासमा सन्जोक राईले अगाडि बढाएको बल बिबिसीका गोलकिपरले रोक्न नसक्दा गोलमा परिणत भएको थियो। च्यासल अन्तिम पाँच मिनेट १० खेलाडीमा सीमित भएको थियो। ८४औं मिनेटमा खराब फाउल गरेपछि सन्तोषले पहिलो पहेंलो कार्ड पाएका थिए। सोही कार्डमा विवाद गरेबापत रेफ्री नवीन्द्र महर्जनले दोहोरो कार्डको दर्शन गराउँदा च्यासल १० खेलाडीमा सीमित भएको थियो। बिबिसी खेलमा फर्किन प्रयास गरे पनि पाएका अवसरलाई सदुपयोग गर्न सकेन र अंक गुमाउन पुग्यो।
जितपछि च्यासल ४ खेलमा सुखद नतिजा निकाल्दै १३ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ। पराजित बिबिसीको समान ८ खेलबाट ४ अंक मात्र छ। बिबिसी तालिकाको पुछारबाट तेस्रो स्थानमा छ। शनिबार सम्पन्न खेलसँगै जारी लिगमा आठौं चरणका खेल पनि सम्पन्न भएका छन्। मनाङले सबै खेलमा स्पष्ट जित आत्मसात् गर्दै तालिकाको शीर्ष स्थानमा राज गरेको छ भने थ्री स्टार दोस्रो र गोलअन्तरका आधारमा संकटा तेस्रो स्थानमा  छ। लिगमा सोमबारबाट नवौं चरणका खेल हुनेछन्।
 

प्रकाशित: १ पुस २०७५ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App