काठमाडाैं - १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (अाइपीएल) का लागि आउँदो डिसेम्बर १८ तारिकमा हुने खेलाडी लिलामीमा ३ सय ४६ खेलाडी सुचिकृत भएका छन्। जयपुरमा हुने लिलामीका लागि कुल १ हजार ३ खेलाडीले नामावली दर्ता गरेपनि आइपीएलमा सहभागि टोलीहरुले खेलाडी छनोट गरेको लिस्ट बुझाएपछि बाँकी रहेका खेलाडीलाई लिलामिको सुचिमा राखिएको हो।
नामावलीसँगै उनीहरुको सुरुवाती मुल्य समेत सार्वजनिक गरिएको छ। जसमा २ करोड भारतीय रुपैयाँमा नौ खेलाडी सुचिकृत भएका छन्। २ करोडमा कुनै पनि भारतीय खेलाडीले स्थान बनाउन सकेका छैनन्। सर्वाधिक मुल्य सुचिमा श्रीलंकका लासिथ मालिंगा र एन्जेलो म्याथ्युज, न्यूजिल्याण्डका ब्रेन्डन म्याकुलम, कोरी एन्डरसन र कालिन इंग्राम, इंग्ल्याण्डका क्रिस वक्स र स्याम करन अष्ट्रेलियाका शान मार्श र डी आर्सी शर्ट रहेका छन्।
त्यस्तै डेढ करोड भारतीय रुपैयाँमा १० खेलाडी समावेश छन्। जसमध्ये जयदेव उनादकट मात्रै भारतीय खेलाडी रहेका छन् भने बाँकी ९ जना विदेशी रहेका छन्। यसमा डेल स्टेन र मोर्नि मोर्केल जस्ता खेलाडीहरु समावेश रहेका छन् भने एक करोड वेस प्राइस भएका खेलाडीको सुचिमा चार भारतीय सहित कुल १९ खेलाडी रहेका छन्। भारतका युवराज सिंह, अक्षर पटेल, मोहम्मद शामी यो सुचिमा रहेका छन्। यस्तै ७५ लाख भारतीय वेस प्राइसमा दुई भारतीय सहित १८ खेलाडी र ५० लाखमा १८ भारतीय सहित कुल ६२ खेलाडी रहेका छन्।
प्रकाशित: २६ मंसिर २०७५ १२:०६ बुधबार