५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पटेलको उत्कृष्ट बलिङमा न्युजिल्यान्डलाई सफलता

अबुधाबी –  अजाज पटेलको उत्कृष्ट बलिङ प्रेरित न्युजिल्यान्डले सोमबार पाकिस्तानविरुद्धको पहिलो  टेस्टमा ४ रनको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै न्युजिल्यान्डले तीन टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ।

१ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान चौथो दिन १ सय ७१ रनमा सीमित भएको थियो । न्युजिल्यान्डले पहिलो इनिङमा १ सय ५३ रन जोड्दा पाकिस्तानले २ सय २७ रन बनाउँदै ७४ रनको अग्रता लिएको थियो । तेस्रो दिन न्युजिल्यान्ड दोस्रो इनिङमा २ सय ४९ रनमा सीमित भएपछि पाकिस्तानले जितका लागि १ सय ७६ रनको सामान्य लक्ष्य पछ्याएको थियो ।

‘हामीले आत्मविश्वास गुमाएनौं र त्यो नै जितको मुख्य कारण बन्यो,’ न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भने, ‘अजाजले परिपक्व प्रदर्शन गरे ।’ विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले १८ मध्ये १ टेस्ट जितेको छ।

पाकिस्तानका अजहर अलीले ६५ रन जोड्दै टोलीलाई जितनजिक पुर्याए पनि उनलाई अन्य ब्याट्सम्यानले गतिलो साथ नदिँदा टोलीले शृंखलामा अग्रता लिने अवसर गुमाएको थियो । पटेलले अजहरलाई एलबिडब्लुको सिकार गराएसँगै न्युजिल्यान्डको जितले औपचारिकता पाएको थियो । १ सय ३६ बलको सामना गरेका अजहरले ५ चौका प्रहार गरे।

पाकिस्तानले बिनाविकेट क्षति ३७ रनबाट चौथो दिनको खेल सुरुआत गरेको थियो । पाकिस्तान जितबाट मात्र १ सय ३९ रनले पछि थियो र टोलीसँग १० विकेट सुरक्षित थियो । पाकिस्तान यसै मैदानमा श्रीलंकाविरुद्ध १ सय ३६ रनको लक्ष्य पछ्याउन असफल भएको थियो।

पटेल र एस सोडीले घातक बलिङ गरेसँगै पाकिस्तानले दिनको छैटौं ओभरभित्र ३ विकेट गुमाइसकेको थियो । पाँचौं ओभरमा पटेलले ओपनर इमाम उल हकलाई २७ रनमा एलबिडब्लुको सिकार बनाएका थिए । छैटाैं ओभरमा सोडीले मोहम्मद हाफिजलाई कोलिन डी ग्रान्डहोमबाट क्याच गराएका थिए । त्यसको तीन बलपछि न सोढीले ह्यारिस सोहिललाई पवेलियनको बाटो देखाएका थिए।

तर ४८–३ को स्थितिमा रहेको पाकिस्तानलाई अजहर र असाद साफिकले चौथो विकेटका लागि ८२ रनको साझेदारी गर्दै जितनजिक पुर्याएका थिए । ८१ बल खेलेका साफिकले ४ चौकाको मद्दतमा ४५ रन जोडे । लन्च ब्रेकअघिको अन्तिम ओभरमा साफिकलाई निल वाग्नरले विकेटकिपर विजे वाट्लिङबाट क्याच गराएसँगै न्युजिल्यान्ड खेलमा हाबी बनेको थियो । पाकिस्तानले मात्र ४१ रन जोड्दा अन्तिम ७ विकेट गुमाएको थियो । दोस्रो इनिङमा न्युजिल्यान्डका पटेलले ५ विकेट हात पार्दा सोडी र वाग्नरले समान २ विकेट लिए।

प्रकाशित: ४ मंसिर २०७५ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App