७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय टोलीको मनोबल बढाउनुपर्छ : रुनी

लन्डन – इङ्ल्यान्डका पूर्वस्ट्राइकर वायन रुनीले  पछिल्लो समय राष्ट्रिय टोलीले गरेको उत्कृष्ट प्रदर्शनबाट केही पूर्वखेलाडी आत्तिएको बताएका छन्।

गारेथ साउथगेटको प्रशिक्षणमा रहेको इङल्यान्डले जुलाईमा रूसमा सम्पन्न विश्वकपको सेमिफानलसम्मको यात्रा तय गरेको थियो भने अक्टोबरमा युइएफए नेसन्स लिगमा स्पेनलाई निराश पारेको थियो।

तर बिदाइ खेलमा बिहीबार अमेरिकाविरुद्ध ३–० को जित हात पारेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी भएका रुनीले केही पूर्वखेलाडी राष्ट्रिय टोलीको प्रदर्शनबाट सशंकित बनेको बताएका छन्।

‘राष्ट्रिय टोलीले निरन्तर राम्रो प्रदर्शन गर्दा उनीहरुको मनोबल बढाउने काम गर्नुपर्छ । तर केही खेलाडी राष्ट्रिय टोलीको प्रशंसा गर्न कन्जुस्याइँ गरिरहेका छन्,’ रुनीले भने, ‘तर म त्यस्तै छैन । म पहिले इङ्ल्यान्ड टोलीको सदस्य थिएँ । तर अब म उनीहरूको समर्थक हुँ र उनीहरूले सधैं उत्कृष्ट लयलाई निरन्तरता दिनेमा विश्वस्त छु।’

‘म इङ्ल्यान्डको जर्सीमा मैदान उत्रँदै राष्ट्रिय टोलीका लागि योगदान गर्न पाउँदा सन्तुष्ट छु,’ उनले थपे, ‘टोलीमा युवा खेलाडीको बाहुल्य छ तर पनि उनीहरू उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यसले आगामी दिन थप सुखद बन्ने संकेत गर्छ।’

इङ्ल्यान्डबाट कीर्तिमानी गोल गर्ने खेलाडी रुनीले २०१७ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरे पनि साउथगेटले उनलाई अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमा समावेश गर्दै उनका लागि बिदाइ खेलको अवसर जुराइदिएका थिए । सो खेलमा हात पारेको जितसँगै उनको बिदाइ सुखद बनेको थियो  । ३३ वर्षे रुनीले इङ्ल्यान्डका लागि १ सय २० खेलमा ५३ गोल गरेका छन्।

गत जुलाईमा मेजर लिग सकर (एमएलएस)को क्लब डिसी युनाइटेडबाट खेल्न अमेरिका गएका उनले क्लबबाट १२ गोल गरिसकेका छन् ।  एमएलएसको पुछारमा रहेको डिसी युनाइटेड रुनीको उत्कृष्ट खेलको मद्दतमा प्ले अफ खेल्न सफल भएको थियो।

रुनीको समयमा इङ्ल्यान्डले कहिले पनि कुनै पनि ठूला प्रतियोगितामा क्वार्टरफाइनलभन्दा माथिको यात्रा गर्न सकेको थिएन । इङ्ल्यान्ड २०१२ को युरोपियन च्याम्पियनसिपको अन्तिम ८ सम्मको यात्रा तय गर्न सफल भएको थियो।

प्रकाशित: ३ मंसिर २०७५ ००:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App