२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

असोज १६ बाट सुनील जोशी स्मृति भारोत्तोलन

काठमाडौं – नेपाल भारोत्तोलन संघको तत्वावधान तथा काठमाडाैं जिल्ला भारोत्तोलन संघको आयोजनामा असोज १६ गतेबाट ‘दोस्रो नेपाल्स स्ट्रङ्गेस्ट २०१८’ सुनीललाल जोशी स्मृति भारोत्तोलन पुरुष तथा महिला सिनियर तथा जुनियर प्रतियोगिता गर्ने भएको छ।

दुई दिनसम्म चल्ने प्रतियोगिता अग्नि ब्याङ्क्वेट, कुमारीपाटी, ललितपुरमा हुने  र प्रतियोगितामा पुरुष सिनियर तथा जुनियरतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजीमाथि गरी ८ तौलसमूह र महिला सिनियर र जुनियरतर्फ ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजीमाथि गरी ७ तौलसमूहमा ३ विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा जिल्लाका गरी करिब १ सय खेलाडीहरूले कुल ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने काठमाडांै जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्रविक्रम शाहले बताए।

‘खेलाडीहरूमा यस खेलप्रति अभिरुचि वृद्धि गर्नुका साथै भारोत्तोलन खेलको विकास र विस्तारमा टेवा पुगोस् भन्ने उद्देश्यले यस प्रतियोगिता आयोजना गरिएको हो,’ शाहले भने।

अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ र एसियन भारोत्तोलन महासंघको नियमानुसार खेलाइने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै सिनियर महिला तथा पुरुष दुवैतर्फ सबैभन्दा बढी भार वहन गर्ने खेलाडीहरूलाई दोस्रो बलशाली महिला तथा पुरुष २०१८ उपाधिका साथै प्रमाणपत्र, ट्रफी र नगद प्रदान गरिनेछ। 

यस्तै सिनियर तथा जुनियर महिला पुरुष दुवैतर्फ उत्कृष्ट भारोत्तोलकलाई उत्कृष्ट भारोत्तोलक उपाधिका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरी सिनियरतर्फ राष्ट्रिय कीर्तिमान कायम गर्ने पुरष र महिला खेलाडीलाई नगद तथा प्रमाणपत्र तथा जुनियरतर्फ उदीयमान महिला तथा पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष शाहले पत्रकार सम्मेलनमा जानकारी गराए । जुनियरतर्फ २० वर्षमुनिका खेलाडीले सहभागिता जनाउनेछन् । शाहले जिल्लाबाट प्रतियोगितामा सहभागी हुन आउने खेलाडीलाई खाने तथा बस्ने व्यवस्था गरिएको  बताए।

 

प्रकाशित: ११ आश्विन २०७५ ००:०४ बिहीबार

सुनील_जोशी_स्मृति_भारोत्तोलन काठमाडाैं नेपाल_भारोत्तोलन_संघ