२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एएफसी यु–१६ महिला छनोट : नेपाललाई जित्नैपर्ने दबाब

अघिल्लाे खेलमा फिलिपिन्ससँग भिड्दै नेपाली महिला टाेली (राताे)।

काठमाडौं – दोस्रो खेलमा शुक्रबार म्यानमारको सामना गर्दा नेपालसामु एएफसी यु–१६ महिला छनोटको दोस्रो चरण प्रवेश सम्भावना कायम राख्न जितबाहेकको विकल्प हुनेछैन।

छनोट चरणअन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा नेपालले बुधबार फिलिपिन्सलाई ४–० को नतिजा सुम्पिएको थियो । त्यसैले प्रतियोगिताको अघिल्लो चरण प्रवेश सम्भावना जीवत राख्न पनि नेपाललाई स्पष्ट ३ अंक आवश्यक छ । नेपालले समूहको अन्तिम खेलमा आइतबार मलेसियाको सामना गर्नेछ।

फिलिपिन्सविरुद्धको खेलको सुरुआतमा आक्रामक खेले पनि त्यसपछिका अधिकांश समय विपक्षी खेलाडीलाई रोक्नमा व्यस्त नेपालका लागि म्यानमारकी स्ट्राइकर म्याट नोइ खिन खतरा बन्न सक्छिन् । बुधबार मलेसियाविरुद्ध गोलरहित बराबरीतर्फ अग्रसर खेलको अन्तिम १५ मिनेटमा खिनले ह्याट्रिक पूरा गरेपछि म्यानमारले मलेसियामाथि ३–० को सहज जित हात पारेको थियो।

यता पहिलो खेलमा मलेसियालाई निराश पारेको म्यानमार लगातार दोस्रो जितका साथ शीर्ष दुईमा बस्दै अघिल्लो चरण प्रवेश सम्भावना थप बलियो बनाउन चाहन्छ । म्यानमारले अन्तिम खेलमा आइतबार फिलिपिन्सको सामना गर्नेछ । त्यसैले म्यानमार उक्त खेलअघि नै अघिल्लो चरणमा प्रवेश सम्भावना बलियो पार्न चाहन्छ । यद्यपि नेपालसँग १ अंक मात्र खोस्न सके मात्र पनि म्यानमारको अघिल्लो चरण प्रवेश सम्भावना कायम रहनेछ।

शुक्रबारै चाँडो गरी हुने खेलमा फिलिपिन्सले मलेसियाको सामना गर्नेछ । पहिलो खेलमा नेपालमाथि सहज जित हात पारेसँगै हौसिएको फिलिपिन्स मलेसियाविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने सोचमा हुनेछ । यता अन्तिम १५ मिनेट सम्लालिन नसक्दा म्यानमारलाई नतिजा सुम्पिएको मलेसियासामु पनि प्रतियोगिताको अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न पनि जितबाहेकको विकल्प छैन।

एसियाली फुटबल महासंघ(एएफसी)ले सहभागी ३३ टोलीलाई ६ समूहमा विभाजन गरेर थाइल्यान्डमा हुने प्रतियोगिताका छनोट गर्न लागेको हो । ६ समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् भने यस्तै समूहका उपविजेतामध्ये उत्कृष्ट २ टोलीले पनि दोस्रो चरणको यात्रा तय गर्नेछ।

छनोट प्रतियोगितामा नेपाल भुटानमा भएको साफ यु–१५ च्याम्पियनसिप खेलेर सहभागिता हुने मौका पाएको हो भने बाँकी तीन टोलीले एएफएफ यु–१६ च्याम्पियनसिप खेलेर सहभागिता जनाउन लागेका हुन्। 

प्रकाशित: ५ आश्विन २०७५ ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App