लन्डन – यसै सिजन रियाल मड्रिडबाट इटालियन सिरी ‘ए’ को क्लब युभेन्ट्समा सरुवा भएका क्रिस्टियानो रोनाल्डोको स्थान स्ट्राइकर गारेथ बेलले लिन सक्ने वेल्सका प्रशिक्षक रायन गिग्सले बताएका छन्।
गेटाफे र जिरोनाविरुद्ध रियालले जित निकाल्दै घरेलु स्पेनिस ला लिगामा विजयी सुरुआत गर्दा स्ट्राइकर बेल गोल गर्न सफल भएका थिए।
‘क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीले छाड्दा उनको विकल्प को हुन सक्छन् भन्ने चासोको विषय हुन सक्छ,’ गिग्सले भने, ‘टोलीमा खेलाडीको खाँचो हुँदैन । लामो समयसम्मको क्लब बसाइले बेललाई अनुभवी बनाएको छ । प्रत्येक वर्ष उनीमाथि जिम्मेवारी बढिरहेको छ र उनले सहजै त्यो जिम्मेवारी आत्मसात् गर्दै आफूलाई उत्कृष्ट साबित गरिरहेका छन्।’
रोनाल्डोको प्रस्थानपछि गोल गर्ने नयाँ खेलाडी खोज्न क्लब केन्द्रित रहेको गिग्सले बताए।
‘बेलले ठूला खेलमा आफ्नो क्षमता देखाइसकेका छन् र उनले आफ्नो काँधमा आएको जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने प्रमाणित पनि गरिसकेका छन्,’ म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक गिग्सले भने । २९ गोल गरेका बेलले गत वर्ष वेल्सका सर्वाधिक गोलकर्ता बन्दै पूर्वफुटबलर इयान रुसासको कीर्तिमानसँग बराबरी गरेका थिए।
२०१३ मा इङ्लिस क्लब टोटेनह्यामबाट रियालमा अनुबन्धित २९ वर्षे बेल अर्को महिना हुने युइएफए लिग अफ नेसन्स खेलका महत्वपूर्ण टोली सदस्य हुन् । २५ सदस्यीय टोलीमा अटाएका बेलको वेल्सले युइएफए लिग अफ नेसन्समा अर्को महिना आयरल्यान्ड र डेनमार्कसँग खेल्दै छ।
‘बेलले नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै रियाललाई सुखद नतिजा दिलाएका छन्,’ गिग्सले भने, ‘तर उनको प्रदर्शन राम्रो नभएको दिन टोलीका लागि सुखद हुन भने सकेको छैन।’
‘उनको समस्या के हो भने उनी घाइते भए भने टोलीमा पुनरागमन जनाउन समय लाग्छ । तर उपस्थित भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीका लागि गोल गर्न सफल पनि भएका छन्,’ गिग्सले थपे।
प्रकाशित: १७ भाद्र २०७५ ०४:४५ आइतबार