काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ।
एन्फा मुख्यालय सातदोबाटोमा बुधबार बसेको कार्यसमितिको आकस्मिक बैठकले सहायक प्रशिक्षक महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक ग्युतोकु कोजीको श्रम स्वीकृति सकिएको भन्दै अध्यागमन विभागले उनलाई नेपाल प्रवेशमा एक वर्षको प्रतिबन्ध लगाएको थियो।
एसियाली खेलकुदका लागि एन्फाले तत्कालीन सहायक प्रशिक्षक राजुकाजी शाक्यको स्थानमा महर्जनलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएपछि एन्फाको निर्णय विवादास्पद बनेको थियो । कोजीले २०१६ मार्चबाट नेपाली टोलीको प्रशिक्षण सम्हाल्दै आएका थिए।
इन्डोनेसियामा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलका लागि जकार्ता प्रस्थान गरेका कोजी उतैबाट जापान फर्किएका थिए । एसियाली खेलकुदमा नेपालले समूहचरणका तीनै खेलमा हार व्यहोर्दै समूहचरणबाटै घर फर्किएको थियो । पहिलो खेलमा जापानलाई १–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा भियतनामलाई २–० र अन्तिम खेलमा पाकिस्तानलाई २–१ को नतिजा सुम्पिएको थियो।
‘सेप्टेम्बर ४ देखि बंगलादेशमा हुने साफ सुजुकी कपमा सहभागिताका लागि तत्काल तयारी थाल्नुपर्ने भएकाले कोजुले सम्हाल्दै आएको मुख्य प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय टोलीका सहायक प्रशिक्षक बालगोलपाल महर्जनलाई दिइएको छ,’ एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साफ च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको नेपालले आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: ७ भाद्र २०७५ ०४:०६ बिहीबार