७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

तेक्वान्दोको गौरव इतिहासमै सीमित

जकार्ता – एसियाली खेलकुदको इतिहासमा नेपालका लागि तेक्वान्दो सबभन्दा सफल खेल हो । विश्व खेलकुदमै ओलम्पिकपछि दोस्रो ठूलो खेलमहोत्सवका रूपमा लिइने महादेशीय खेलकुदको कुम्भमेलाको पछिल्ला १७ संस्करणसम्ममा नेपालले १ रजतसहित कुल २३ पदक मात्र जित्न सकेको छ । त्यसमा १ रजत र १३ कांस्य गरी १४ पदक तेक्वान्दोको नाममा छन् । त्यसपछि बक्सिङले ६ तथा करातेले ३ कांस्य पदक जितेका छन्।

इतिहास संवृद्ध भए पनि नेपाली तेक्वान्दोको वर्तमान भने गौरव गर्न लायक छैन । चीनको ग्वान्झाउमा २०१० र दक्षिण कोरियाको इन्चोनमा २०१४ मा भएका पछिल्ला दुई संस्करणमा पदकविहीन भएको नेपाली तेक्वान्दो इन्डोनेसियामा जारी १८औं संस्करणमा पनि अहिलेसम्म पदकविहीन छ।

दुई वर्षअघिको दक्षिण एसियाली खेलकुदमा समेत तेक्वान्दोले कुनै स्वर्ण पदक जित्न सकेको थिएन । बिहीबार महिला ४९ केजीमुनिमा अस्मिता खड्का र पुरुष ६८ केजीमुनिमा ज्ञानेन्द्र हमालले प्रतिस्पर्धा गर्न बाँकी भए पनि नेपाली टोलीले उनीहरूबाट पनि पदक आशा गरेको छैन । बिहीबार कुनै जादु भएर अस्मिता वा ज्ञानेन्द्रले पदक छुन नसके नेपाली तेक्वान्दो एसियाली खेलकुदका लगातार तीन संस्करणमा उपलब्धिहीन हुनेछ।

विगतको उपलब्धिका भरमा नेपाली खेलकुदले यसपालि इन्डोनेसियामा पनि तेक्वान्दोलाई नै आफ्नो आशाको केन्द्रका रुपमा प्रचार गरेको थियो । तर प्रत्येक दिन नेपालको पदक छुने आशा निराशामा बदलिने तालिकाले बुधबार पनि निरन्तरता पाउँदा खाली हात घर फर्किनुपर्ने सम्भावना बढ्दो छ। 

‘देश नै असफल भएपछि एउटा प्रशिक्षक सफल हुन सक्दैन । त्यसैले हामी पनि असफल भएकै हौं । देश सफल भएको भए, खेल्ने वातावरण भएको भए, खेलकुद परिषद् र ओलम्पिक कमिटीहरू सफल भएको भए खेलाडी सफल हुन्थ्यो । खेलाडी सफल भएपछि प्रशिक्षकले पनि जस पाउँथ्यो।’

१९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा नेपाली तेक्वान्दोले चार कांस्य पदक जितेको थियो । राजकुमार राई, विधान लामा, रामबहादुर घर्ती क्षेत्री र राजकुमार बुढाथोकीले त्यो बेला नेपालका लागि कांस्य पदक जितेका थिए । यसै गरी १९९०मा चीनको बेइजिङमा भएको एसियाली खेलकुदमा पदकविहीन भएको तेक्वान्दोका लागि १९९४ मा जापानको हिरोसिमामा भएको अर्को संस्करणमा मानबहादुर शाहीले एक कांस्य पदक जितेका थिए । त्यसको चार वर्षपछि थाइल्यान्डको बैंककमा सम्पन्न एसियाली खेलकुद नेपालका लागि ऐतिहासिक रह्यो। 

थाइल्यान्डमा सविता राजभण्डारीले नेपालका लागि तेक्वान्दोबाट रजत पदक जितेकी थिइन् । कुनै पनि नेपाली खेलाडीले एसियाली खेलकुदमा अहिलेसम्म जितेको त्यो नै सबभन्दा ठूलो पदक हो । त्यही संस्करणमा सपना मल्ल र किशोर श्रेष्ठले नेपालका लागि कांस्य पदक जितेका थिए । २००२ मा दक्षिण कोरियाको बुसान तथा २००६ मा कतारको दोहामा सम्पन्न एसियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट तीन÷तीन कांस्य पदक जितेको थियो । बुसानमा वर्तमान टोलीका प्रशिक्षक दीपक विष्ट, रेणुका मगर र रितुजिमी राई तथा दोहामा दीपक विष्ट, मनिता शाही र आयशा शाक्यले कांस्य पदक जितेका थिए। 

‘इतिहासमा हामीले के गर्याैं भन्ने कुराको कुनै अर्थ रहन्न । हामीले अहिले के गरिरहेका छौं भन्ने कुरा सबभन्दा महत्वपूर्ण हुन्छ । अहिले नेपाली तेक्वान्दो अनावश्यक विवाद, राजनीति र शक्ति संघर्षमा रुमल्लिइरहेको छ । खेलाडीले खेल्ने वातावरण बन्दै जानुपर्नेमा उल्टो बिग्रिँदै गइरहेको छ,’ चार पटक लगातार दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेर कीर्तिमान बनाउनुका साथै एसियाली खेलकुदका दुई कांस्य पदक विजेता ओलम्पियन विष्टले भने, ‘अहिले खेलमा धेरै परिवर्तन भइसक्यो । यो एउटा विज्ञान हो । यसमा देशले ठूलो लगानी गर्नुपर्छ, सबै देशले गरिरहेका छन् । हामीचाहिँ पदमा को बस्ने, कसरी विवाद ल्याउने भन्नेमै केन्द्रित छौं।’ 

नेपाली तेक्वान्दो टिमले बढी आशा गरेका खेलाडी वीरबहादुर महरा बुधबार ६३ केजीमुनि तौलसमूहको अन्तिम १६ मा कजाकस्तानका काजिबेक बक्तियारुलीसँग ३०–१९ को नतिजामा पराजित भएपछि विष्टको निराशा थपिएको थियो । ‘वीरबहादुर हाम्रो टिमको अनुभवी खेलाडी हो । ऊ राम्रो फर्ममा पनि थियो । त्यहीअनुसार राम्रो खेलेको पनि हो । अन्तिम ३२ को खेलमा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई हरायो । तर कजाकस्तानसँग उसले त्योअनुरूप खेल्न  सकेन,’  विष्टले भने, ‘हामीले उसबाट ठूलो आशा गरेका थियौं । उसले आज जित्न सक्ने अवस्था पनि थियो । तर पछिल्लो तीन मिनेट धेरै अंक गुमायो । जसले गर्दा हातमा आएको जित पनि गुम्यो।’

दुई वर्षअघि भारतको गुवाहटी र सिलोङमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेका वीरबहादुरले त्यति बेला फाइनलमा आफूलाई हराउने सागका स्वर्ण पदकधारी अफगानिस्तानका अहमद बाख्शीमाथि बदला लिँदै अन्तिम १६ को यात्रा गरेका थिए । वीरबहादुरले जकार्ता कन्भेन्सन सेन्टरको तेक्वान्दो हलमा २४–१३ को प्रभावशाली नतिजाका साथ बाख्सीसँग दुई वर्षअघिको बदला लिएका थिए । तर वीरबहादुरको त्यो रबाफ धेरै समय टिक्न सकेन । अन्य खेलाडीजस्तै वीरबहादुर पनि अन्तिम १६ मा रोकिए। 

पुरुष ८० केजीमुनिको अन्तिम १६ भिडन्तमा नेपालका अर्का खेलाडी भूपेन श्रेष्ठले पनि अफगानिस्तानका प्रतिद्वन्द्वसँग खेले । तर उनले २७–७ को नतिजामा पराजित हुँदै अफगानिस्तानका रमेश हुसैनीलाई क्वार्टरफाइनलको बाटो सुम्पिए । ‘भूपेन नयाँ खेलाडी भएकाले हामीले पदक आशा गरेका थिएनौं । उचाइ धेरै भएकाले हामीले उसलाई ट्रायलका लागि ल्याएका हौं । त्योअनुसार उसले भिडेर खेल्यो,’ प्रशिक्षक विष्टले भने।

खेलाडीका रूपमा देशकै सबभन्दा सफल विष्टले आफू प्रशिक्षकका रूपमा असफल भएको पनि स्विकारे । ‘देश नै असफल भएपछि एउटा प्रशिक्षक सफल हुन सक्दैन । त्यसैले हामी पनि असफल भएकै हौं । देश सफल भएको भए, खेल्ने वातावरण भएको भए, खेलकुद परिषद् र ओलम्पिक कमिटीहरू सफल भएको भए खेलाडी सफल हुन्थ्यो । खेलाडी सफल भएपछि प्रशिक्षकले पनि जस पाउँथ्यो । तर दुर्भाग्य हाम्रो पूरा देश असफल भइरहेको छ । पूरा खेलकुद असफल भइरहँदा हामीलाई पनि त्यो ट्याग लागिरहेको छ,’ विष्टले स्विकारे। 

प्रकाशित: ७ भाद्र २०७५ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App